अर्थ / बाणिज्य

आजदेखि घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

इकागज |
साउन ३२, २०८१ शुक्रबार ६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रूपैयाँका दरले घटाएको जनाएको छ । 

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रूपैयाँ रहेकामा १६२ रूपैयाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर १६९ रूपैयाँ रहेकामा १६४ रूपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १७० रूपैयाँ रहेकामा १६५ रूपैयाँ कायम गरिएको छ ।


साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि १५५ रूपैयाँ रहेकामा १५२ रूपैयाँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि १५७ रूपैयाँ रहेकामा १५४ रूपैयाँ र तेस्रो वर्गका लागि १५८ रूपैयाँ रहेकामा १५५ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । 


Author

थप समाचार
x