अर्थ / बाणिज्य

लक्ष्य अनुसार उठ्दैन कर

इकागज |
भदौ ३१, २०८१ सोमबार १६:५३ बजे

बागलुङ - हरेक कार्यालय, संघसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगति पनि हुनुपर्छ । तर आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपि कर संकलन भने उल्लेख्य रुपमा बढेको छ । 

हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर संकलन भएको छ । केही वर्ष अघि शतप्रतिशतभन्दा धेरै कर संकलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ म एक अर्ब २० करोड कर संकलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन । बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कूल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर संकलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए । 


साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले संकलन घटेको छ । साउनमा रु एक करोड ९३ लाख संकलनको लक्ष्य राख्दा ९१ लाख ३५ हजार मात्रै संकलन भएको प्रमुख श्रीवास्तवले बताए । आव २०७९/८० मा कार्यालयले रु एक अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गर्ने लक्ष बनाएकामा ९५ करोड ३१ लाख मात्रै संकलन गर्न सकेको थियो ।

लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औंल्याउने गरिएको छ । बागलुङको हकमा सिवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ संकलन हुने लाखौँ रकम सरेको हो । 

त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ । “सहकारीको कारोबार घट्दा कर सङ्कलन पनि घटेको छ”, प्रमुख श्रीवास्तवले भने ।  गत आर्थिक वर्ष कार्यालयले रु ६० करोड ६९ लाख आयकर संकलन गर्ने लक्ष्य राखेकामा ५१ करोड ४९ लाख संकलन भएको छ । त्यस्तै भ्याटतर्फ रु ३३ करोड ४७ लाख संकलन गर्ने लक्ष्य रहेकामा २७ करोड ५० लाख मात्रै संकलन भएको छ । अन्तशुल्कतर्फ पाँच करोड चार लाख संकलन गर्ने लक्ष्य रहेकामा चार करोड २० लाख मात्रै संकलन भएको छ । 

सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकाले कर संकलन हुन सकेको छैन । त्यस बाहेक असार मसान्तसम्ममा कैयौँ विकास निर्माण सम्पन्न नभएकाले कर संकलनमा ढिलाइ भएको हो । 
 


Author

थप समाचार
x