अर्थ / बाणिज्य

महामारीबीच कसरी बढ्यो रेमिट्यान्स ?

पुष्पराज आचार्य |
असोज १८, २०७७ आइतबार १६:२० बजे

कोभिड–१९ को महामारीले संसारभर उद्यम/व्यवसाय तहसनहस भएर नेपाली अर्थतन्त्रको टेको रेमिट्यान्समा धक्का लाग्न अनुमान थियो । तर, ती अनुमान विपरित पछिल्ला महिनाहरुमा रेमिट्यान्सको आश्चर्यजनक वृद्धि देखिएको छ ।
 
नेपाल राष्ट्र बैंकले साउन महिनामा ९२ अर्ब ७१ करोड रुपैँया रेमिट्यान्स भित्रिएको जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो । यसअघि असार महिनामा एक खर्ब रुपैँया रेमिट्यान्स भित्रिएको थियो । मासिक औसत रेमिट्यान्सको आप्रवाह सवा ७३ अर्ब रुपैँयाका हाराहारीमा रहँदै आएकोमा प्रतिकुल परिस्थितिमा पनि अभूतपूर्व ढंगले रेमिट्यान्स बढ्नुका पछाडि प्रमाणिक अध्ययन नभएपनि रेमिट् सेवा प्रदायक र अर्थशास्त्रीहरुले यसलाई हुण्डी र यात्रुहरुमार्फत् सुन ल्याउने क्रम रोकिँदा औपचारिक माध्यमबाट आउने रेमिट्यान्समा बढोत्तरी भएको हुन सक्ने बताएका छन् ।
 
‘अहिले रेमिट्यान्सको आप्रवाह हेर्दा यात्रुहरुमार्फत् आउने सुन र हुण्डीका कारण विगतमा सबै रेमिट्यान्स औपचारिक माध्यमबाट आउँदो रहेनछ भन्ने देखियो,’ नेपाल विप्रेषण संघका अध्यक्ष सुमन पोखरेलले भने, ‘अतिरिक्त कारणचाहिं श्रम गन्तव्यमा रहेकाहरुले यहाँ परिवारलाई संकट परेर आफूलाई आकस्मिक खर्च आवश्यकताका लागि राखेको बचतसमेत पठाएको अनुमान गरेका छौं ।’

आयातमा कमि र रेमिट्यान्स वृद्धिमा सकारात्मक सहसम्बन्ध देखिएको भन्दै अर्थशास्त्री केशव आचार्यले विगतमा वस्तुको न्यून बिजकीकरणमा आयात हुने र त्यो वस्तुको यथार्थ मूल्य फछ्र्यौटका लागि हुण्डीको प्रयोग भइरहेको हुनसक्ने दाबी गरे । कम भन्सार र आयकर समेत छली गर्न सकिने भएकाले आयातमा न्यून बिजकीकरण गर्ने र वस्तुको आपूर्तिकर्तालाई हुण्डीमार्फत् भुक्तानी दिने गरिएको आशंका हुँदै आएको छ । ‘कोभिड–१९ सुरु हुँदा श्रम गन्तव्यहरुमा ठूलो संख्यामा रोजगारी गुम्ने अनुमान गरिएको थियो,’ आचार्यले भने, ‘तर श्रमिक कटौति कम भयो र अब पश्चिम एसियाका हाम्रा श्रम गन्तव्य मुलुकहरु अर्थतन्त्र पुनर्स्थापनामा लागिसकेकाले कोभिड–१९ को भयावह दोस्रो लहर नआएमा रेमिट्यान्सको आप्रवाहमा ठूलो असर पर्ने देखिन्न ।’


आचार्यले कामदारले वेलफेयरबापत् प्राप्त गर्ने रकमदेखि दक्षिण कोरिया तथा जापान जस्ता सामाजिक सुरक्षाको राम्रो प्रबन्ध भएका मुलुकमा सरकारले दिएको राहतले समेत नेपाल पठाउने रेमिट्यान्स बढेको हुनसक्ने बताए । ‘स्थायी रुपमै नेपाल फर्केकाले आफू आउँदा आफूसँग रहेको बचत र वेलफेयरको रकम समेत सबै रेमिट गरेर आएका छन्,’ उनले भने ।

मासिक औसत रेमिट्यान्सको आप्रवाह सवा ७३ अर्ब रुपैँयाका हाराहारीमा रहँदै आएकोमा प्रतिकुल परिस्थितिमा पनि अभूतपूर्व ढंगले रेमिट्यान्स बढ्नुका पछाडि प्रमाणिक अध्ययन नभएपनि रेमिट् सेवा प्रदायक र अर्थशास्त्रीहरुले यसलाई हुण्डी र यात्रुहरुमार्फत् सुन ल्याउने क्रम रोकिँदा औपचारिक माध्यमबाट आउने रेमिट्यान्समा बढोत्तरी भएको हुन सक्ने बताएका छन् । 


पश्चिम एसियाली देशहरुमा धेरैजसो नेपाली कामदारहरु निर्माण क्षेत्र, सुरक्षा गार्ड, सरसफाइ, उत्पादनमूलक उद्योग र पर्यटन क्षेत्रमा कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२० ले जनाएको छ ।
 
‘त्यहाँ कामदारहरुले अतिरिक्त समय काम पनि काम गरिरहेका छन्,’ आचार्यले भने, ‘सुरक्षा गार्ड, सरसफाइ, औद्योगिक क्षेत्रमा कामदारले अतिरिक्त समय पनि काम पाएका छन् ।’ मनोरञ्जन केन्द्रदेखि होटल रेष्टुरेन्टमा खानपान गरेर नेपालीहरुले त्यहाँ गर्ने खर्चपनि घटेकाले उनीहरुको आम्दानी सामान्य अवस्थाको भन्दा केही बचत पनि भएको हुनसक्ने अनुमान उनको छ । 

अर्कोतर्फ, कोभिड–१९ ले नयाँ अवसरहरु पनि सिर्जना गरेको छ । खासगरी मलेसियाका ल्याटेक्स लगायत कम्पनीले रबरका पञ्जाको व्यापारमा विश्व बजारमा निर्यात बढाएर ३० प्रतिशत हिस्सा ओगटेका छन् । 
साउदी अरेबियाबाहेक अन्य श्रम गन्तव्यहरुमा कामदार कटौतीको ठूलो समस्या नभएको र त्यहाँका अर्थतन्त्र कोभिड–१९ पछिको पुनर्स्थापनामा अघि बढेकाले रेमिट्यान्सको वृद्धिले स्थायित्व पाउने अपेक्षा गर्न सकिने उनले बताए । 

कोभिड–१९ को महामारी शुरु भएपछि विश्व बैंकले सन् २०२० मा नेपालमा रेमिट्यान्स आप्रवाह १४ प्रतिशतसम्मले कमी आउन सक्ने अनुमान गरेको थियो । आयातमा कमी र रेमिट्यान्स वृद्धिसँगै नेपालको वैदेशिक मुद्रा सञ्चिति १२ अर्ब एक करोड अमेरिकी डलर अर्थात् १४ खर्ब ३७ अर्ब रुपैँया छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x