अर्थ / बाणिज्य

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा नि:शुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

इकागज |
असोज ९, २०८१ बुधबार ११:३८ बजे

काठमाडौँ- एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत गत हप्ता झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ।

यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी स्थानीय महिलाहरूको सहभागिता थियो भने त्यसमध्ये ९० जनाभन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए।


नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजना गरिएको यो पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर एक कोशेढुंगा सावित भएको बताइएको छ।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पहिलो स्थानमा पर्दछ। सन् २०२२ मा मात्रै दुई हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाइएको थियो भने यस रोगको कारण एक हजार ३१३ जनाले ज्यान गुमाएका थिए।

यो शिविरले महिलाहरूलाई स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरू लिनुको महत्वलाई उजागर गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षणहरू गर्न प्रोत्साहन गरेको छ। 

एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजारभन्दा बढी महिलाहरूको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। 

'हाम्रो यो स्क्रिनिङ पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा आधारित छ। अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरूमा भएका छन्। पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरूको मृत्युको प्रमुख कारण रहेको तथ्यांकले देखाउँछ। ८० प्रतिशतभन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरुले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन्। कोशी प्रदेशमा सुरू भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा यस किसिमका पहलहरू अन्य प्रदेशमा पनि विस्तार गर्ने छौं,' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो र फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू गर्ने योजना बनाएको छ। 

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरूको कार्यान्वयन लागि २ अर्ब रूपैयाँभन्दा बढी योगदान गरिसकेको छ।


Author

थप समाचार
x