अर्थ / बाणिज्य

शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा

इकागज |
असोज १०, २०८१ बिहीबार १९:४८ बजे

फाइल फाेटाे

काठमाडौँ - चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउनमा शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सो बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार, शोधनान्तर स्थिति बचतमा रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । यस्तै, चालु खाता ३० अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।


समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पूँजीगत ट्रान्सफर २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) दुई अर्ब ६५ करोड रहेको थियो ।

चालु आवको पहिलो महिनामा कूल वस्तु निर्यात नौ दशमलव ६ प्रतिशतले घटी १२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा आठ दशमलव सात प्रतिशतले कमी आएको थियो । यस्तै,  कूल वस्तु आयातमा शून्य दशमलव ६ प्रतिशतले कमी आई एक खर्ब २८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा एक दशमलव ६ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात चार दशमलव चार प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ प्रतिशत र शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ । 
 


Author

थप समाचार
x