अर्थ / बाणिज्य

तेसो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

इकागज |
असोज १४, २०८१ सोमबार २०:१९ बजे

रौतहट - अविरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमबार दिउँसो देखि सञ्चालनमा आएको छ ।​

आइतबार बिहानै देखि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। भन्सार एरियामा भने ४/५ फिट पानी जमेको थियो भने भन्सार छेउ सशस्त्र प्रहरी बल गुल्मभित्र ३/४ फिट पानी जमेको थियो । आइतबार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।


तर सोमबार बिहानै देखि आइतबारको तुलनामा पानी केही कम भएपछि तेस्रो दिन भन्सारको ढाठ खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताएका छन् । तर सोमबार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्बारसम्म २/३ फिट पानी जमेको कारण बारिपारि पैदल आउने जानेलाई ठुलो सास्ती भइरहेको छ ।

भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केही राहत भएपनि पैदल यात्रुलाई कठिनाइ रहेको छ । भारतीय सीमा सुरक्षा बल ऐसऐसविले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेको कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नु परेको बताइएको छ ।


Author

थप समाचार
x