अर्थ / बाणिज्य

एक सय ४६ करदाताको बैंक खाता रोक्का

इकागज |
कात्तिक २८, २०८१ बुधबार २१:५६ बजे

चितवन - आन्तरिक राजस्व कार्यालय भरतपुरले एक सय ४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले रु एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरुको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुको बैंक खाता रोक्का गरिएको हो ।
 
कार्यालयमा रहेका करदतामध्ये चार सय ९५ करदाताले मूल्य अभिवृद्धि करको रु ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै आयकरतर्फ तीन सय २३ करदाताले रु ९४ करोड बक्यौता तिर्न बाँकी रहेको उनले बताए । कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार चार सय करदाता छन् भने जम्मा करदाता ५८ हजार चार सय ५५ रहेको पौडेलले जानकारी दिए । 


पौडेलका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा रु छ अर्ब ६२ करोड राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८८ दशमलब ३६ प्रतिशत हो । सूचना अधिकारी पौडेलका अनुसार राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा रु सात अर्ब ६६ करोड ५९ हजार राजस्व संकलनको लक्ष्य दिएको थियो । चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायतका कारण लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको छ ।
 


Author

थप समाचार
x