‘नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन’
नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन रहेको एक अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजले संयुक्त रूपमा गरेको चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनको त्रैमासिक अवस्थामाथिको अध्ययनले विनियोजित बजेटमार्फत गरिएका सुधारका कार्यक्रमसमेत कार्यान्वयन नहुँदा बजेट खर्च हुन नसकेको र यसको प्रभाव पूर्वाधार निर्माण क्षेत्रमा परिरहेको औँल्याएको हो।
अध्ययनमा पूर्वतयारीविना योजना राख्दा काम हुन नसकेको, अघिल्लो सरकारले बजेट ल्याएको कारण सरकारले अपनत्व नलिएको, बजेटमै तोकिएका सुधारका कार्यक्रम कार्यान्वयन नभएको लगायतका कारण पूर्वाधार क्षेत्रमा विनियोजित बजेट कार्यान्वयन हुन नसकेको जनाइएको छ।
पूर्वाधार क्षेत्रमा २० खर्ब रुपैयाँ प्रतिवर्ष लगानी गर्नुपर्ने १६ पञ्चवर्षीय योजनामा उल्लेख गरेको छ। तर वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा पूर्वाधार क्षेत्रमा बजेट विनियोजन भएको तर त्यो पनि खर्च हुन नसकेको देखिएको छ। पछिल्ला आर्थिक वर्षहरूमा छुट्याइएको बजेटको ६० प्रतिशत वरिपरि मात्र खर्च हुने प्रवृत्ति छ।
अध्ययनले चालु आर्थिक वर्ष २०८०/८१ वर्षको बजेटमा भएका पूर्वाधारसँग सम्बन्धितमध्ये सात वटा बुँदा परिसंघले चालु वर्षको बजेट वाच पुस्तिकामा समेटेको छ। सोमध्ये पहिलो चौमासिकमा ढिला गरी एउटा मात्र कार्यान्वयन भएको उल्लेख छ। चार वटा बुँदामा आंशिक र दुई वटाको प्रगति शून्य रहेको देखिएको छ।
शुक्रबार ललितपुरमा आयोजित पूर्वाधार क्षेत्रमा विनियोजित बजेट कार्यान्वयनको अवस्थामाथि परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले पुँजीगत खर्च वृद्धि गर्नका लागि समन्वय बढाउन सबै मन्त्रालयसँग अवरोध घटाउने उपाय खाजीको छलफल चलाइरहेको बताए।
“अनावश्यक र झन्झटिलो प्रक्रियालाई घटाउन, वनको समस्या समाधान गर्न, खरिद र वित्तीय व्यवस्थापनलाई सहजीकरण गर्न काम गरिरहेका छौँ,” उनले भने। सरकारले नयाँ योजना थप गर्नेभन्दा पनि निर्माणाधीन परियोजनालाई पूरा गर्नेतर्फ सरकारको जोड रहेको उनले बताए।
लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले १६ पञ्चवर्षीय योजनाले ११२ खर्ब रुपैयाँ पूर्वाधार क्षेत्रमा लगानी आवश्यक देखाएको बताए। त्यसमध्ये ३५ खर्ब सरकारले र बाँकी निजी क्षेत्रले लगानी गर्ने गरी योजना तयार भएको जानकारी दिए। “संघीय व्यवस्थाअनुसार सबै तहका सरकारबीच स्पष्ट कार्ययोजना जिम्मेवारी तोकिएमा पनि पूर्वाधार क्षेत्रमा रहेका समस्या समाधान गर्न सहयोग पुग्ने देखिन्छ, त्यसमा अस्पष्टता हुँदा धेरै अलमल र पूर्वाधार विकासमा अपेक्षित प्रगति हुन नसकेको हो,” उनले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्तले पूर्वाधार परियोजना बाँड्ने र योजना छरिदा आवश्यकभन्दा न्यून बजेट हुँदा कार्यान्वयनमा समस्या रहेको बताए। सांसदले नै २५ करोड रुपैयाँ लागत भएका परियोजनाको लागि १० लाख बजेट पार्न खोज्ने र काम नहुने समस्या रहेको उदाहरण दिए। त्यसबाहेक सार्वजनिक खरिदसम्बन्धी सुधारका लागि चालिएका कदमलाई पनि अघि बढाउन नसकिँदा पुँजीगत खर्च सुस्त भएको उल्लेख गरे।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानी सम्मेलनमार्फत पूर्वाधार क्षेत्रलाई केन्द्रित गरी नीतिगत र कार्यान्वयनका प्रवृत्तिलाई सुधार गर्ने विषयलाई अघि बढाइरहेको बताए। पुँजीगत खर्च वृद्धि गर्नको लागि योजनाको प्राविधिक, कानूनी, निर्माण स्थल, वित्तीय व्यवस्थापनलगायतका तयारी महत्त्वपूर्ण हुने बताए। “पूर्वतयारी नगरी योजना बनाउने चाहानाले विनियोजित बजेटसमेत खर्च नहुने दुखद अवस्था रहेको छ,” उपाध्यक्ष पाण्डेले भने।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि पूर्वाधार विकास निर्माण क्षेत्र सक्रिय हुनुपर्ने बताए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया