२४ गतेदेखि चीनबाट साप्ताहिक रूपमा खोप ल्याइने
काठमाडौँ : नेपालले असार २४ गतेदेखि चीनबाट नियमित रूपमा खोप ल्याउने भएको छ । नेपालले चीनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि सम्झौता गरेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको खरिद निकाय स्वास्थ्य सेवा विभागले चीनसँग ‘नन–डिस्क्लोजर एग्रीमेन्ट’ मा खोप ल्याउन लागेको हो ।
‘नन–डिस्क्लोजर एग्रीमेन्ट’ अनुसार कति परिमाण, कुन दरमा र कहिले–कहिले ल्याउने भन्ने सूचना तेश्रो पक्षसँग गोप्य राखिने भनिएको छ । यद्यपि नेपालको खरिद ऐनले यसका लागि अनुमति दिदैंन । चीनले विभिन्न मुलुकसँग विभिन्न दरमा खोप बिक्री गरेकाले चीनकै आग्रहमा ‘नन–डिस्क्लोजर एग्रीमेन्ट’ गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
‘नेपाल–चीन कूटनीतिक सम्बन्ध, दुई देशबीचको निकटता अनि नेपालको प्रतिव्यक्ति आय तथा मानव विकासको अवस्थालाई समेत मध्यनजर गर्दै चीनले औचित्यपूर्ण दरमा खोप उपलब्ध गराएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार एमालेको केन्द्रीय समिति बैठकमा अब पर्याप्त खोप उपलब्ध हुने अभिव्यक्ति दिएका थिए ।
चीनले अनुदानमा अहिलेसम्म १८ लाख खोप दिइसकेको छ । अहिले ५५ वर्षमाथि उमेरसमूहलाई चीनले अनुदानमा दिइएको खोप उपलब्ध गराइँदै आएको छ ।
यसका साथै नेपालले कोभ्याक्स सुविधामार्फत् प्राप्त हुने खोप पनि लिन ताकेता गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालले अहिलेसम्म अनुदानमा ४२ लाख ४८ हजार खोप अनुदानमा प्राप्त गरिसकेको छ । यसमध्ये चीनबाट १८ लाख र भारतबाट २० लाख मात्र खोप ल्याइएको हो । भारतले नेपाली सेनालाई १ लाख मात्रा खोप अनुदानमा दिएको थियो भने कोभ्याक्स अन्तर्गत नेपालले ३ लाख ४८ हजार मात्रा खोप प्राप्त गरेको छ । कोभ्याक्सले नेपाललाई १ करोड ४८ लाख मात्रा खोप दिने प्रतिवद्धता गरेको थियो ।
भारतले नेपाललाई प्रतिमात्रा ४ डलरमा खोप उपलब्ध गराएको थियो । भारतको सिरम इन्स्टिच्यूटसँग खरिद सम्झौता भएकोमध्ये १० लाख मात्रा खोप आपूर्ति हुन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया