Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

सेयर बजार सुस्तायो, कारोबार ५ अर्ब रुपैयाँमा सीमित

इकागज |
असार २०, २०७८ आइतबार १५:४८ बजे

काठमाडौँ : नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा यस साताको पहिलो कारोबार दिन, आइतबार उत्साहप्रद भएन । आइतबार बजार सीमान्त ०.३ प्रतिशत अर्थात् ८.४८ अंकले घटेर २,८३४.५१ बिन्दूमा आइपुगेको छ । असार १ मा धितोपत्र बोर्डले लगानी जोखिम रहेको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको भएपनि अहिलेसम्म त्यी कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ र सेयर कर्नरिङ भए/नभएको सम्बन्धमा अध्ययन प्रतिवेदन बाहिर ल्याएको छैन । सेयर बजारमा ट्रेडिङ, सर्कुलर ट्रेडिङ र सेयर कर्नरिङलाई धितोपत्र सम्बन्धी कसुरको रूपमा लिइन्छ । 

धितोपत्र बोर्डले उक्त कम्पनीहरूको सूची सार्वजनिक गरिदिएपछि बजारमा ठूला लगानीकर्ताले कारोबार गरेका छैनन् । फलस्वरुप बजारमा दैनिक कारोबार घटिरहेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक पनि त्यसयता कुनै कारोबार दिनमा सीमान्त बढ्ने तर बजार घट्दा ह्वात्त घट्ने भैरहेको छ । आज नेप्सेमा १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने घट्दो बजारमा पनि ४१ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । 


विश्लेषकहरूले सेयर बजारमा देखिएको तेश्रो लहरमा सेयरको संतृप्ति मूल्यमा बजार प्रवेश नगरिसकेको बताए पनि ठूला लगानीकर्ताले कारोबार नगर्दा बजार सुस्त देखिएको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक जेठ ३१ गते अहिलेसम्मकै उच्चतम ३०२५.८३ बिन्दूमा पुगेको थियो । उक्त दिन दैनिक कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो । सेयर बजार पुँजीकरण पनि ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको थियो । आइतबार दैनिक कारोबार रकम ५ अर्ब ५ करोड रुपैयाँमा आइपुगेको छ । 

पछिल्लो समय नयाँ लगानीकर्ताले पछि बजारमा प्रवेश गरेर पनि राम्रो पोर्टफोलियो बनाएका छन् । उनीहरू बजारलाई उद्वेलित गर्ने प्रयासमा देखिएका छन् तर उनीहरूको प्रयास सफल भएको देखिदैंन । 

अघिल्लोपटक २०७३ साउनमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेको थियो । अघिल्लोपटक एकै आर्थिक वर्षमा सेयर बजारमा दुईपटक बुल देखिएको थियो । एकै वर्षमा ‘कपल बुल’ संसारभरका सेयर बजारमा दुर्लभ घटना मानिन्छ । त्यतिबेला बैंकिङ्ग समूहले मात्र बजार उचालेको थियो, त्यसमा गिरावट आउनेबित्तिकै बजारले आत्मविश्वास गुमाएको थियो भने अहिलेको बुलमा सबैजसो परिसूचक उकालो लागेका छन् । बजार विविधिकरण भएको छ । यसले बजारलाई थप सुदृढ बनाएको छ । यतिबेला बजारको प्रवृत्ति हेर्दा पुराना र ठूला लगानीकर्ताले मौद्रिक नीति पर्खिरहेको सेयर बजारका विश्लेषकहरूले बताएका छन् । 

आइतबार होटल तथा पर्यटन, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) तथा नेपाल टेलिकम लगायत कम्पनीको सेयर सूचीकृत रहेको अन्य समूह र म्युचुअल फण्ड समूहबाहेकका अन्य सबै समूहका परिसूचक ओरालो लागेका छन् । गुडविल फाइनान्सको डिबेञ्चर (२०८३) मा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार नेपाल इन्स्यारेन्सको २१ करोड ५७ लाख र नेपाल टेलिकमको १९ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै ओटा कारोबार निफ्राको तीन हजार ९ पटक किनबेच भएको छ । 

आइतबार नेप्सेमा २२४ कम्पनीको ५ अर्ब ५ करोड ३५ लाख रुपैयाँ मूल्यका एक करोड ८ लाख ४२ हजार दुई सय २१ कित्ता सेयर ६० हजार एक सय ७५ पटकका कारोबारबाट किनबेच भएको छ । 
 


Author

थप समाचार
x