अर्थ / बाणिज्य

असारयता सेयर बजार पुँजीकरण २९४ अर्ब रुपैयाँले घट्यो

इकागज |
असार २१, २०७८ सोमबार १६:५२ बजे

काठमाडौँ : असार महिनायता सेयर बजार पुँजीकरण दुई खर्ब ९४ अर्ब रुपैयाँले घटेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको सेयर मूल्य क्रमशः घट्दै गएपछि जेठ ३१ को अहिलेसम्मकै उच्च पुँजीकरण ४२ खर्ब १६ अर्ब रुपैयाँबाट सोमबार (असार २१) मा कुल बजार पुँजीकरण ३९ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । 

असार १ मा धितोपत्र बोर्डले लगानीकर्तालाई लगानीका लागि सम्भावित जोखिम रहेको भन्दै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । त्यसयता बजार कम बढ्ने र बढी घट्ने भैरहेको छ । सोमबार सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ११.७८ अंकले घटेर २,८२२.७३ बिन्दूमा आइपुगेको छ । आज ट्रेडिङ, प्रडक्सन एण्ड म्यानुफ्याक्चरिङ, नेपाल टेलिकम र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लगायतको सेयर सूचीकृत अन्य समूह, म्युचुअल फण्ड र इन्भेस्टमेण्ट समूहको परिसूचक उकालो लागेको छ भने बाँकी समूह ओरालो लागेका छन् । 


आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसीको सबैभन्दा ठूलो कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ४१ करोड २० लाख रुपैयाँ र माथिल्लो तामाकोसीको १९ करोड ३६ लाखको कारोबार भएको छ । 

माथिल्लो तामाकोसीको सेयर उद्घाटनकै दिन आइतबारको तुलनामा ३० रुपैयाँ प्रतिकित्ता घटेको छ । बत्ती बल्ने समयमा तामाकोसीको सेयर मूल्य बढ्छ भन्ने आश्वासनमा लगानीकर्ताले तामाकोसीको सेयर उठाएका थिए । तर आज बिक्रीको चापका कारण मूल्यमा झण्डै ४ प्रतिशतको गिरावट देखिएको छ । 

सोमबार नेप्सेमा २२४ कम्पनीको ४ अर्ब ५८ करोड रुपैयाँ मूल्यका १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर ५२ हजार आठ सय ४६ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ । 
 


Author

थप समाचार
x