अर्थ / बाणिज्य

विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा, सार्वजनिक भए पाँच जना शार्क

इकागज |
पुस ८, २०८१ सोमबार १७:१ बजे

काठमाण्डौँ- बिश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ ।  नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।

सोमबार काठमाण्डौमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना शार्कहरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरुमा लगानी गरी उनीहरुको ब्यबसाय विस्तारमा सहयोग पु¥याउनेछन् । 


पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध भएका छन् । कठिन संर्घषमार्फत् ब्यबसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा ब्यबसायीहरुले उत्कृष्ट सोंच र सम्भावना भएका तर लगानी जुटाउन खोजिरहेका ब्यबसायहरुमा लगानीसँगै व्यवसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् । 

यस सिजनका लागि अन्य दुई जना शार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ ।सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ । 


यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ ।  ‘भारत, बंगलादेश र पाकिस्तानमा शार्क ट्याङकको अभूतपूर्व सफलतापछि हामी नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित छौं। शार्क ट्यांकले अनगिन्ती उद्यमीहरूलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पका कथाहरुद्वारा प्रेरित गरेको छ ।’

सोनी पिक्चर्स टेलिभिजनकी दक्षिण एशिया क्षेत्रीय अन्तराष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिन भन्छिन– ‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रर्वतनलाई अन्तराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा छौं। यसले दक्षिण एशियाभित्र शार्क ट्याङ्क ब्रान्डलाई अझ बलियो बनाउने छ र हामी नेपालबाट उदाउने नविन उद्यमहरुको प्रतिक्षा गरिरहेका छौं ।’ 

हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कडेलले शार्क ट्याङ्क नेपालको पहिलो सिजनको शार्कका रुपमा नेपालका सफल उद्यमी÷ब्यबसायीहरुलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए । ‘वास्तवमा दक्षिण एशिया क्षेत्रमा यो कार्यक्रमको सम्झौता हिमालय टेलिभिजनले गरेको थियो तर कोभिड र आर्थिक सिथिलताका कारण सुरुवात गर्न केही ढिला हुन गयो’ उनले भने– ‘यो केवल रियालिटी शो मात्र नभएर नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नविन क्रान्ति ल्याउने छ भन्ने हामीले विश्वास लिएका छौं ।’ 

हिमालय टेलिभिजन एचडीले शार्क ट्यांक नेपाल सिजन १ का लागि २० एपिसोडको श्रृङ्खला प्रसारण गर्ने तयारी गरिरहेको छ र नेपालका सबै प्रकारका व्यवसायहरूलाई आवेदन दिनका लागि आह्वान गरेको छ । 
व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डाटा प्रस्तुत गर्दै, एक निश्चित प्रतिशत व्यवसायको शेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन् । ब्यबसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमहरुले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । शार्क ट्याङ नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिखभित्र दिइसक्नुपर्ने छ ।

हिमालय टेलिभिजनले नेपालमा बिभिन्न अन्तराष्ट्रिय रियालिटी टेलिभिजन शोहरुको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज, डान्सिङ स्टार लगायतका कार्यक्रम प्रसारण भइरहेका छन् भने यसै बर्ष अर्को अन्तराष्ट्रिय फेसन रियालिटी शो नेपाल्स नेक्स्ट टप मोडल पनि प्रसारण हुँदैछ ।


Author

थप समाचार
x