शेखर गोल्छा नेतृत्वको कार्यसमितिले पदभार सम्हाल्यो
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न ५४औं वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले आज अपराह्न पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
निर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कार्यकारिणी समितिका सदस्यहरुले सपथ लिएका छन् । अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको सपथग्रहण गरेका थिए ।
अध्यक्षको पदभार ग्रहण पश्चात् सम्बोधनका क्रममा गोल्छाले महासंघलाई निजी क्षेत्रको संगठीत आवाज बोक्ने संस्थाको रुपमा विकास र सुदृढ गर्दै लैजाने अग्रजको सपना पुरा गर्न हरतरहले लाग्ने बताए ।
‘निर्वाचनका क्रममा घोचपेच केही थिए भने सवैलाई बिसाएर अब समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि मेरो कार्यसमितिले काम गर्नेछ,’ उनले भने, ‘मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पु-याउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएको छु ।’ गोल्छाले तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न प्रयास गर्ने, सँगसँगै उत्थानशील अर्थतन्त्र निर्माणका लागि सुधारमा पैरवी गर्ने सोच सुनाए । यो सोच आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरी तत्काल कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।
पदभार हस्तान्तरण र ग्रहण समारोहमा निवर्तमान अध्यक्ष भवानी राणाले अध्यक्ष गोल्छालाई अध्यक्षको पीन र अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष राणालाई निवर्तमान पदको पीन लगाई दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया