निर्माण व्यवसायी उत्रे आन्दोलनमा, माघ २१ गतेदेखि राजधानी प्रवेश गर्ने नाका ठप्प पार्ने
काठमाडौं - सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् ।
भोली अर्थात माघ ३ गतेदेखि चरणबद्ध रूपमा सरकार विरुद्ध आन्दोलनमा जाने घोषणा निर्माण व्यवसायीले गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकास निर्माण सम्बन्धी मन्त्रीहरूलाई ज्ञापनपत्र दिने काम सुरू गरिनेछ ।
माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको महासचिव रोशन दाहालले जानकारी दिए ।
यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने गरी अर्को चरणको आन्दोलन घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन् ।
निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि सरकारबाट भुक्तानी नभएको, राष्ट्र बैंकले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग संकटमा परेको उनीहरूको दाबी रहेको छ ।
तर, उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले भने सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरूलाई कूल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा २२ अर्ब भुक्तानी भइसकेको जनाएका छन् । उनका अनुसार अब करिब ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रकियामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी यसअघि दिएका थिए ।
सोही बीच, निर्माण व्यवसायीले आान्दोलनको घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया