अर्थ / बाणिज्य

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

इकागज |
माघ ८, २०८१ मंगलबार १८:६ बजे

फाइल फाेटाे

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को अर्ध वार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत पुस मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख बराबरको वस्तु आयात हुँदा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको मात्रै निर्यात भएको छ । 


गत आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान दुई दशमलव ०१ प्रतिशतले घटेर ८९ दशमलव २८ प्रतिशत कायम भएको छ ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग व्यहोरेको छ । पछिल्लो छ महिना अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड बराबरको वस्तु आयात गर्दा ७३ अर्ब ७१ करोड १२ लाख बराबरको निर्यात गरेको छ । जसअनुसार यो अवधिमा भारतसँगको मात्र व्यापार घाटा चार खर्ब २९ अर्ब १४ करोड बराबर छ । त्यस्तै, चालु आवको पुस मसान्तसम्ममा चीनसँग रू एक खर्ब ५८ अर्ब ६२ करोड र अर्जेन्टिनासँग २२ अर्ब ६२ करोड व्यापार घाटा व्यहारेको छ ।

नेपालले एक सय २३ मुलुकसँग व्यापार घाटा बेहोरेको छ भने ३२ वटा मुलुकसँग व्यापार नाफा बेहोरेको छ । नेपालले गर्ने वैदेशिक व्यापारमा बढी नाफा रहेका मुलुकमा डेनमार्क, अस्ट्रिया, रसियन फेडेरेसन, माल्दिभ्सलगायत छन् ।
 


Author

थप समाचार
x