अर्थ / बाणिज्य

२९०० बिन्दु नजिक पुग्यो सेयर बजार

विकास बैंक र वित्तीय संस्थाहरूले उचाले सेयर बजार

इकागज |
असार २७, २०७८ आइतबार १५:३२ बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक २९०० बिन्दुको नजिक पुगेर रोकिएको छ । कारोबार सकिने अवधिमा २९०० अंकमा एक अंकको फरकमा नेप्से रोकिएको हो । २.६४ प्रतिशतले बढेर नेप्से परिसूचक २८९९.८२ बिन्दुमा पुगेको हो । 

पछिल्लो एक महिनामा नेप्से परिसूचक ओरालो लागिरहेको छ । ३००० अंक पार गरिसकेको नेप्से असारदेखि क्रमश: ओरालो लागिरहेको थियो । गत बुधबार २८०८ बिन्दुसम्म झरिसकेको थियो । तर, बिहीबार थोरै अंकले बढेको नेप्से आइतबारसम्म ठूलो अंकमा बढेको हो । 


विकास बैंक तथा वित्तीय संस्थाहरूको सेयरमूल्यमा आएको वृद्धिले नेप्सेलाई छलाङ मार्न मद्दत पुगेको हो । विकास बैंक समूहको परिसूचक आठ दशमलव २४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको परिसूचक आठ दशमलव ३९ प्रतिशतले बढेको छ । 

श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसि फाइनान्स र गुर्खाज फाइनान्सको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । त्यसबाहेक २१ कम्पनीको सेयर मूल्यमा उच्च दरले वृद्धि भएको छ । 

कारोबार रकम समेत आठ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । ८२ हजार ४९ पटकको कारोबारमा तीन करोड १५ लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी कारोबार एनआइशी एसिया बैंकको छ । बजार पुँजीकरण ४० खर्ब रुपैयाँ बराबर छ ।   


Author

थप समाचार
x