गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आश, तर भागबन्डामा परेको छ कांग्रेसलाई
फाइल तस्बिर
काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदैछ । सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच वर्षका लागि गभर्नर नियुक्त गरेको थियो ।
त्यसबेला पनि प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीसमेत एमालेकै थिए । अधिकारीको कार्यकाल सकिने बेलामा पनि संयोगले ओली नै प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल एमालेकै उपाध्यक्ष हुन् । अधिकारी स्वयं पनि एमालेका 'होलटाइमर' कार्यकर्ता हुन् ।
गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा भए पनि सरकारले हालसम्म सिफारिस समिति बनाएको छैन । सिफारिस समिति बनाएर गभर्नर नियुक्ति प्रक्रिया अगाडि नबढाएकाले गभर्नर अधिकारी पूर्ण बिदामा बस्ने मनस्थितिमा छैनन् ।
उनी चैत ५ गतेदेखि १५ गतेसम्म १० दिन फोर्स बिदामा बस्दैछन् । बिदा सकेर पुनः फर्किने र आफ्नो कार्यकालको अघिल्लो दिनसम्म कार्यलयमा जाने मनस्थितिमा गभर्नर अधिकारी रहेको उनी निकट स्रोतहरूको भनाइ छ । चैत २२ गतेसम्म अधिकारी राष्ट्र बैंक जाने र पुनर्नियुक्ति नभएमा २४ गते राष्ट्र बैंकले बिदाइ गर्ने तयारी रहेको बताइएको छ । गभर्नर अधिकारी बिदामा रहेको समयमा डेपुटी गभर्नर डा. निलम ढुंगानाले कायममुकायको जिम्मेवारी पाउने छिन् ।
अधिकारीअघिका केही गभर्नर र अन्य सार्वजनिक नियुक्त पाएका केही संस्था प्रमुख कार्यकाल समाप्त हुन एक महिनाअघि बिदा बस्ने गरेका थिए । तर, अधिकारी भने कार्यकाल सकिनुअघिको एक महिने बिदाभन्दा राष्ट्र बैंकले नै व्यवस्था गरेको वार्षिक अनिवार्य बिदा बस्न लागेका हुन् ।
यसपटक कांग्रेस र एमालेको संयुक्त सरकार छ । दुई पार्टीबीच महत्वपूर्ण संवैधानिक अंग र निकायमा भागबन्डाको सहमति भएको छ । स्रोतका अनुसार निर्वाचन आयोग र नेपाल धितोपत्र बोर्ड एमालेको भागमा परेको छ । धितोपत्र बोर्डमा एमालेका सन्तोषनारायण श्रेष्ठ नियुक्त भइसकेका छन् । निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाको कार्यकाल अन्तिम चरणमा पुगेको छ ।
कांग्रेसलाई भने नेपाल राष्ट्र बैंकको गभर्नर र बीमा समिति अध्यक्ष भागमा परेको छ । बीमा समितिमा कांग्रेस निकट शरद ओझा नियुक्त भइसकेका छन् । गभर्नरको दौडमा ज्ञानेन्द्र ढुंगाना, निलम ढुंगाना, रामेश्वर खनाल, चिन्तामणि देवकोटा, बमबहादुर मिश्र, डा.गुणाकर भट्ट, प्रकाशकुमार श्रेष्ठ, सुशील भट्टलगायत छन् । यसमध्येमा कांग्रेस सभापति शेरबहादुर देउवाले इच्छाएको व्यक्ति गभर्नर बन्ने स्रोतको दाबी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया