अर्थ / बाणिज्य

को हुन् नेपाल स्टक एक्सचेन्जको सिइओमा आवेदन दिने ३३ बर्षका प्रबिण अधिकारी ? के छन् योजना ?

इकागज |
फागुन २९, २०८१ बिहीबार ६:४८ बजे

काठमाडौँ- कोरोना महामारी नहुँदो हो त नेपालको पुँजीबजारमा यति छिट्टै यति धेरै लगानीकर्ता सायदै हुने थिए । कोरोनाका कारण लामो समयसम्म घरभित्र सीमित मानिसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइनबाटै शेयर कारोबार गर्न मिल्ने गरी सुरु गरेको सुविधा तत्कालका लागि दिन कटाउने उपयुक्त माध्यम बन्यो । 

त्यही सुविधाका कारण आज २४ लाखभन्दा बढीले अनलाइनबाट शेयर कारोबार गर्न थालेका छन् । झण्डै ५७ लाख मेरो शेयरमा दर्ता भएका भने ३८ लाखभन्दा बढी सक्रिय रुपमा कारोबार गरिरहेका छन् । यिनै लाखौ मानिसहरुको खर्बौ रकम बराबरको सम्पत्ति कारोबार हुने संस्थाको नेतृत्व हाँक्ने दाउमा छन्, प्रवीण अधिकारी  । 


नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का आकांक्षी अधिकारीले सरकारसमक्ष चार वर्षे कार्यकालको विस्तृत योजनासहित दाबेदारी पेस गरिसकेका छन् । दाबेदारी पेस गर्नेमा उनी सम्भवतः सबैभन्दा युवा उमेरका आकांक्षी हुन् ।

अधिकारीको उमेर र पृष्ठभूमिका आधारमा उनलाई बलियो आकांक्षी मानिएको छ । खासगरी सूचना प्रविधिमा उनी अब्बल छन् । उनले विभिन्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कम्पनीमा आबद्ध भइ डेढ दशकदेखि आफूलाई प्रमाणित गरिरहेका छन् । पाँच वर्षभन्दा बढी समय अध्यापनमा सक्रिय अधिकारीसँग नेप्सेलाई अन्तर्राष्ट्रिय स्तरको परिस्कृत संस्था बनाउने योजना छ । 

व्यवस्थापन, विज्ञापन, प्रविधि र बजारसँग सम्बन्धित क्षेत्रमा लामो समय काम गरेका अधिकारीले ती क्षेत्रमा रणनीतिक नेतृत्वकर्ताको भूमिका निर्वाह गरिसकेका छन् । कैयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा नवीनतम क्षेत्रमा काम गरिरहेका व्यक्ति हुन् । आफ्नो रणनीतिक योजना कार्यान्वयन गर्दै संस्थाको दिगो विकास गर्दै कम्पनीको योगदान बढाउने उनको योजना छ ।

नेपालको अग्रणी टेलिकम कम्पनी ऐनसेलदेखि गुगलसम्म काम गर्दा प्रविधिमा मज्जाले भिजेका अधिकारीले नेप्सेको अनलाइन प्रणालीलाई सुरक्षित, पारदर्शी र सहज बनाउँदै धेरैभन्दा धेरै मानिसलाई यसमा आबद्ध गर्ने योजना बनाएका छन् । “मेरो विशेषज्ञता सूचना प्रविधि र पुँजीबजारमा हो, अहिले नेप्सेले जसरी काम गरिरहेको छ त्यो राम्रो भए पनि पर्याप्त भने छैन”, उनले भने, “यसलाई नीतिगत तहबाटै बलियो बनाउन जरुरी छ ।”

उनका अनुसार अहिलेको प्रणाली लगानीकर्ताको नजरबाट विश्वास योग्य छैन । कारोबारका समयमा अवरुद्ध हुने प्रणालीका कारण लाखौँ लगानीकर्ताले पाएको समस्या समाधान गर्ने आफूसँग योजना रहेको उनको भनाइ छ । उनले आवश्यक पूर्वाधार निर्माण गरी यसमा हुनसक्ने शेयर कर्नरिङलगायतका समस्या समाधान गर्दै लगानीकर्ताको खस्कँदो आत्मविश्वास बढाउने गरी आफूले काम गर्ने चाहेको उनको भनाइ छ । 

“शेयर बजारलाई हामी अर्थतन्त्रको ऐना पनि भन्छौँ, त्यसैले यसमा आबद्ध लगानीकर्ताको आत्मविश्वास नबढाइ अन्य क्षेत्रको विकास सम्भव छैन”, उनले भने, “विभिन्न औजार प्रयोग गरी लगानीकर्ताको आत्मविश्वास बढाउनेदेखि यसलाई पारदर्शी र विश्वासयोग्य बनाउने गरी काम गर्ने सोचका साथ मैले दाबेदारी प्रस्तुत गरेको छु ।”

प्रविधिमा विशेषज्ञता, संगठन व्यवस्थापनको क्षमता र डिजिटल रूपान्तरणको स्पष्ट दृष्टिकोण र अनुभव भएका अधिकारीले संगठनलाई डिजिटाइज गर्ने, वित्तीय प्रणालीका कमजोरी हटाउँदै लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्ने आफ्नो योजना रहेको सुनाए । “बजारमा अहिले शेयर बजारबारे जथाभावी विश्लेषण गर्ने, भविष्यवाणाी गर्ने काम पनि भइरहेको छ, यी र यस्ता समस्या समाधान गर्दै साइबर सुरक्षा बलियो बनाउँदै डाटा उल्लंघन र बजार हेरफेर प्रवृत्तिबाट जोगाउने गरी काम गर्ने मेरो योजना छ”, उनले भने । 

त्यसबाहेक कानूनको अधीनमा रही नेप्सेको संरचनागत सुधार गरी कार्यक्षमता अभिवृद्धि गर्ने समेत उनको योजना छ । साथै, प्रशासनिक ढिलाइ र परम्परागत अभ्यास हटाएर कार्यकुशलता वृद्धि, एआईमा आधारित स्वचालित प्रणाली लागू गरी मानवीय त्रुटि घटाउने सम्मका योजना अघि सारेका छन् । लगानीकर्तालाई विश्वासयोग्य संस्थाका रुपमा विकास गर्ने उनको सोच छ । त्यसबाहेक क्लाउड–आधारित व्यापार प्रणाली विकास, छिटो र भरपर्दो लेनदेनको सुनिश्चितता, मोबाइलमैत्री लगानी प्लेटफर्मको विकास पनि आफ्नो योजनामा रहेको उनले सुनाए ।
 
त्यसबाहेक वित्तीय साक्षरता र बजारमा सहभागिता बढाउनका लागि आफूले योजना बनाएको उनको भनाइ छ । “वित्तीय साक्षरता कार्यक्रम निर्माण गरी लागू गर्नेदेखि वेबसाइटमै सम्पूर्ण जानकारी उपलब्ध गराउने योजना छ”, उनले भने, “यसमा प्रवेश गर्न चाहनेलाई प्रक्रियालाई सरलीकरण गरी सामान्य जनतामा पहुँच स्थापित गर्ने गरी योजना बनाएको छु”, उनले भने ।


Author

थप समाचार
x