अर्थ / बाणिज्य

चीन जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै

इकागज |
फागुन २९, २०८१ बिहीबार ७:३८ बजे

सांकेतिक तस्विर

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् । 

 


पहिरो नियन्त्रण, चारवटा पुल र एक कालोपत्र योजनासहित यहाँ नौ योजना रहेका छन् ।  आयोजनाका सूचना अधिकारी इञ्जिनियर बिष्णु चापागाईंले ती योजनामध्ये चारवटा ठेक्का सम्झौता भई कार्यान्वयनमा आइसकेको र पाँच योजना ठेक्का सम्झौताको चरणमा रहेको बताए ।  

 

यहाँ मुस्ताङको थासाङ–४ स्थित कैकु खोला, थासाङ–२ को लार्जुङ खोला, जोमसोम–मुक्तिनाथ खण्डको पान्डा खोलामा पुल र म्याग्दीको राहुघाट खोलामा बेलिब्रिजका लागि ठेक्का सम्झौता भएको हो । 

आयोजनाका अनुसार मुस्ताङको थासाङ-४ स्थित २० मिटर लम्बाइको कैकु खोला पुलको बाँकी निर्माणसम्पन्न गर्न रु पाँच करोड ३९ लाखमा बिके केसी, जिसी जेभी निर्माण कम्पनीसँग १३ फागुनमा ठेक्का सम्झौता भएको हो । 

थासाङ-४ लार्जुङ खोलामा निर्माणाधीन २० मिटर लामो पुलको अधुरो निर्माणसम्पन्न गर्न दुई करोड २२ लाखमा एसके धौलागिरी निर्माण सेवासँग ११ फागुनमा ठेक्का सम्झौता भएको थियो ।
    
यस्तै, पान्डा खोला पुलमा खोलाको धार एकीकृत गराउन नयाँ ठेक्का सम्झौता भएको हो । पान्डा खोला पुलमा पानीको सर्कुलर जोड्ने गरी खोला च्यानलाइजिङ गर्न ११ फागुनमा ५८ लाख ५७ हजारमा सोली थुम्का निर्माण सेवासँग ठेक्का सम्झौता भएको सूचना अधिकारी चापागाईंले बताए । राहुघाटमा अवस्थित बेलिब्रिज व्यवस्थापन तथा मर्मतका लागि बिआरटी साया जेभीसँग रु तीन करोड ३९ लाखमा १३ फागुनमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए । 
 


Author

थप समाचार
x