Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन सेयर बजारमा छलाङ

इकागज |
साउन ३, २०७८ आइतबार १५:५९ बजे

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा विश्वासको मत लिने दिन सेयर बजार मापक नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बढेको छ । तुलनात्मकरुपमा खुल्ला अर्थव्यवस्थाको पक्षधर नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत पाउने निश्चित देखिएपछि लगानीकर्ताहरूको मनोबल बढेको हुनसक्ने आकलन गरिएको छ ।

संसारभर मुलुकको कार्यकारी प्रमुख वा शासक फेरबदल हुँदा सेयर बजारमा उतारचढाव देखिने गरेको छ । साधारणतया: नियामक सिद्धान्त बोकेका शासकप्रति सेयर बजारका लगानीकर्ताहरू त्रसित हुने गरेका छन् । २०६५ सालमा बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर बनाउन नहुने अभिव्यक्ति दिएर आलोचित बनेका थिए । 'सेयर बजारलाई जुवाघर' भनेको अर्थमा प्रचार भएपछि सेयर बजारमा व्यापक पहिरो गएको थियो । आर्थिक वर्षको पहिलो कारोबारका रुपमा साउन ३ गते नेप्से परिसूचक तीन दशमलव ३७ प्रतिशतले बढेर २९८०.६१ बिन्दुमा पुगेको छ ।  

गत असार २७ मा सर्वोच्च अदालतले दउवाकै पक्षमा फैसला गर्ने हल्ला चलेको थियो । जसले सेयर बजार नेप्से परिसूचक २.६४ प्रतिशतले बढाएको थियो । २०७४ जेठ २४ मा पनि प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएकै दिन नेप्से ३५ अंकले बढेको थियो ।

 


तुलनात्मक रुपमा खुला अर्थव्यवस्थाको पक्षधर मानिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्‌मा विश्वासको मत लिने निश्चित भएपछि सेयर बजारमा लगानीकर्ताहरूको मनोबल बढेको बुझिएको छ ।


पाँच कम्पनीको सेयर भाउमा सर्किट ब्रेकर
नेप्से परिसूचक बढेसँगै पाँच कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । अधिकांश जलविद्युत् कम्पनीहरूको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो ।
हिमालयन पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर र समृद्धि फाइनान्सको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ ।

हिमालयन पावर पार्टनरको सेयर मूल्य ४४.९० रुपैयाँले चार सय ८३ प्रति कित्ता पुगेको छ । सिंगटीको सेयर मूल्य ४३.३० रुपैयाँले बढेर चार सय ७६ रुपैयाँसम्म कारोबार भएको थियो । सिन्धु विकास बैंकको सेयर मूल्य ४०.१० रुपैयाँले बढेर चार सय ४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । ङादीको सेयर मूल्य ५७ रुपैयाँले बढेको छ भने समृद्धि फाइनान्सको सेयर मूल्य ४६.९० रुपैयाँले बढेको छ ।

सबै समूहका परिसूचकमा हरियाली
कारोबारमा आएका १३ समूहका परिसूचकमा हरियाली देखिएको छ । विकास बैंक र बैंकिङ समूहका परिसूचकमा उच्च वृद्धि देखिएको छ ।

विकास बैंक समूहको परिसूचक पाँच दशमलव ०५ प्रतिशतले बढेको छ । बैंकिङ समूहको परिसूचक चार दशमलव ७१ प्रतिशतले बढेको छ । निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्ड समूहका परिसूचक तीन प्रतिशतभन्दा बढी दरमा वृद्धि भएका छन् ।

कारोबार ११ अर्ब नाघ्यो
पछिल्लो समय चार/पाँच अर्बमा खुम्चिएको सेयर बजारको कारोबार ११ अर्ब रुपैयाँ नाघेको छ । ११ अर्ब ६३ करोड रुपैयाँ सेयर कारोबार भएको छ । एक लाख १६ हजार दुई सय ९४ पटकको कारोबारमा दुई करोड ८८ लाख कित्ता बराबर सेयर किनबेच भएको छ । सबैभन्दा बढी मञ्जुश्री फाइनान्स र नबिल बैंकको सेयर कारोबार भएको छ ।


Author

थप समाचार
x