अर्थ / बाणिज्य

ऋणको ब्याज सस्तिएपछि सेयर बजारमा लगातार उछाल

इकागज |
मंसिर १७, २०७७ बुधबार १६:२ बजे

काठमाडौं : सेयर धितोमा कर्जामा बैंक तथा वित्तिय संस्थाको सस्तो ब्याजदरको प्रभाव सेयर बजारमा परेको छ । मंसीर १० गतेसम्म १८०० बिन्दूभन्दा तल रहेको सेयरको मूल्य प्रतिबिम्बित गर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आज (मंसीर १७)  सम्म आइपुग्दा २९० अंकले बढेर बुधबार २,०७१.०२ बिन्दूमा आइपुगेको छ । मंगलबारको तुलनामा बुधबार एकै दिन सेयर बजार परिसूचक ७०.६२ अर्थात् ३.५३ प्रतिशतले बढेको छ । 

बुधबार सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.२५ अंक अर्थात् ३.१९ प्रतिशतले बढेको छ । बुधबार नेप्सेमा ट्रेडिङ (व्यापार) उपसमूहबाहेक सबै उपसमूहको परिसूचकहरु उकालो लागेका छन् । सोमबार पुँजी बजार नियामक धितोपत्र बोर्डले सेयर बजार तीव्र रुपमा बढीरहेकाले सेचत भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । त्यसको भोलिपल्ट मंगलबार बजार केही सम्हालिएर अघि बढेको थियो । 


बुधबार नेप्सेमा लघुवित्त क्षेत्रका कम्पनीको सेयर मूल्य उल्लेख्य बढेको छ । मिथिला लघुवित्त वित्तिय संस्था, सान्जेन जलविद्युत्, जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था, एनएमबी लघुवित्त वित्तिय संस्था, विजय लघुवित्त वित्तिय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, लक्ष्मी लघुवित्त वित्तिय संस्था, नेरुडे लघुवित्त वित्तिय संस्था र छिमेक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । 

बजार बढ्ने क्रममा केही साता अघि म्यानुफ्याक्चरिङ र प्रडक्सन, ट्रेडिङ, जीवन बीमा र पुनर्बीमा तथा नेपाल टेलिकमको सेयरमा देखिएको आकर्षण पछिल्लो साता बैंकिङतर्फ मोडिएको थियो । बैंकिङ क्षेत्रको प्रतिफल कमजोर भए पनि लगानीकर्ताको आकर्षण देखियो । बुधबार लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । 

बुधबार नेप्सेमा २०१ कम्पनीको ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार नौ सय ३७ रुपैँया मूल्य बराबरका १ करोड ५५ लाख ६४ हजार चार सय २७ कित्ता सेयर ६१ हजार ६ सय ३६ कारोबारमार्फत् किनबेच भएका छन् । 

बजार बढ्ने क्रम तीव्र भएपछि लगानीकर्ताले बैंक तथा वित्तिय संस्थाबाट प्राप्त गर्ने ऋणको परिणाम पनि बढेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले पछिल्लो १२० दिनको सेयरको औसत मूल्यका आधारमा धितो मूल्य निर्धारण गरी त्यसको ७० प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था गरेको छ । बजार बढ्ने क्रम तीव्र भएसँगै लगानीकर्ताले सेयर धितोमा प्राप्त गर्न सक्ने कर्जा परिणाम पनि बढेको छ भने कर्जाको ब्याजदर पनि सस्तिएको छ । जसले सेयर बजार बढाउन मद्दत पु¥याइरहेको विश्लेषकहरुले बताएका छन् । 
 


Author

थप समाचार
x