अर्थ / बाणिज्य

आगामी साता दुई सचिव सेवानिवृत्त हुँदै

इकागज |
साउन २२, २०७८ शुक्रबार १६:१३ बजे

काठमाडौँ– आगामी साता नेपाल सरकारका तीन सचिव सेवानिवृत्त हुनलागेका छन् । आइतबार राजस्व सचिव रामशरण पुडासैनी र त्यसको दुई दिनपछि मंगलबार प्रदेश ३ सरकारका प्रमुख सचिव मुकुन्द पौडेल सेवानिवृत्त हुँदैछन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल बुधबार सेवानिवृत्त हुनेमा उनले पहिल्यै राजीनामा दिइसकेका छन् । 

राजस्व सचिव पुडासैनीले लामो समय अर्थ मन्त्रालयमा सेवा गरे । अर्थ मन्त्रालयमा उनले बजेट महाशाखा, राजस्व व्यवस्थापन महाशाखा लगायत विभिन्न भूमिकामा रहेर काम गरे । मुख्यसचिवबाट राजीनामा दिएर एसियाली विकास बैंकको वैकल्पिक निर्देशकमा जागिर खान मनिला पुगेका सोमलाल सुवेदीलाई हटाएर पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन सहसचिव पुडासैनीलाई पठाएको थियो । 


२०७६ माघ २२ मा तत्कालीन अर्थसचिव राजन खनाल सेवानिवृत्त भएपछि सरकारले राजस्वबाट शिशिरकुमार ढुङ्गानालाई अर्थसचिव बनाएको थियो । त्यसपछि पुडासैनीले कामु राजस्व सचिवको जिम्मेवारी पाएका थिए । त्यस लगत्तै उनी बढुवा समितिको सिफारिशमा परेर सचिव भए र राजस्व सचिवका रूपमा कार्यरत रहे ।

त्यस्तै, मंगलबार सेवानिवृत्त हुन लागेका प्रदेश ३ का प्रमुख सचिव पौडेलले सहसचिव हुँदा लगानी बोर्ड, सम्पत्ति शुद्धीकरण निवारण विभाग, अर्थ मन्त्रालयको जिम्मेवारीमा थिए । सचिव  बढुवा भएपछि उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयमा  पदस्थापन गरिएको थियो । 


Author

थप समाचार
x