अर्थ / बाणिज्य

उड्डयन प्राधिकरण टुक्राउने विधेयकको विरोधमा कर्मचारी आन्दोलित

प्रत्येक दिन तीन घण्टा पेन डाउन गर्ने

इकागज |
साउन २६, २०७८ मंगलबार २१:४५ बजे

काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई नागरिकको पहुँचबाहिर लाने साथै उड्डयन सुरक्षामा नै चुनौती थप्ने भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् ।

सोमबारदेखि सुरू गरिएको आन्दालनको कार्यक्रम बिहीबारसम्मका लागि सार्वजनिक गरिएको छ । कर्मचारीहरूले बुधबारसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी बाँधेर महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।


प्राधिकरण टुंग्याउनका लागि विभिन्न स्वार्थ समूहहरू योजनाबद्ध रुपमा कदम चालिएकाले यस विधेयकलाई कुनै पनि हालतमा पास गर्न नदिने गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको लोकतान्त्रिक कर्मचारी संघका सदस्य सुजन भण्डारीले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मीनप्रसाद खनालले युरोपियन युनियनले नेपाल लगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरुको साँठगाँठमा संस्था निजीकरण गर्ने पाटोमा लगिएको दाबी गरे । 

सरकारले मंगलबार प्रतिनिधिसभामा प्राधिकरण टुक्रयाउने गरी दुई विधेयक दर्ता गरेको छ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रतिनिधिसभामा टेबल गरेको हो । 


Author

थप समाचार
x