अर्थ / बाणिज्य

एक वर्षमै सेयर धितो कर्जा दोब्बर बढेपछि राष्ट्र बैंकले तोक्यो १२ करोड रुपैयाँको सीमा

इकागज |
साउन २९, २०७८ शुक्रबार १७:४८ बजे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा प्रवाहमा कडाइ गरेको छ । १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिन नपाइने भएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले यस्तो सीमा तोकेको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको कुल ४० प्रतिशतसम्म सेयर धितो कर्जा दिन पाउने व्यवस्था थियो । त्यो व्यवस्था राष्ट्र बैंकले यथावत् राखेको छ ।

तर ऋणको सीमा तोकेर बजारलाई नियन्त्रण गर्न खोजेको हुनसक्ने जानकारहरू बताउँछन् । सेयर धितो कर्जा पछिल्लो एक वर्षमा दोब्बर भएपछि राष्ट्र बैंकले यो कदम चालेको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन् । 


साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले मार्जिन कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था छ । समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले यो सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने गभर्नरले प्रतिबद्धता जनाए ।

अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोराखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण (धितो) मूल्य अनुपातमा ६५ प्रतिशतबाट बढाई ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो । सेयर बजारमा देखिएको लगानीकर्ताको उत्साहलाई ध्यानमा राखी मार्जिन कर्जा खुकुलो बनाएको थियो ।

सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिकोकर्जा प्रवाहमा सेको मूल्याङ्कन गर्दा १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नु पर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको थियो । जसले सेयर बजारमा उल्लेख्य मात्रामा लगानी ओइरेको थियो । तर, बैंकबाट मार्जिन कर्जामार्फत लगानी अस्वाभाविक रुपमा बढ्न थालेपछि जोखिम न्यूनिकरणमा राष्ट्र बैंक पुगेको छ ।  


Author

थप समाचार
x