अर्थ / बाणिज्य

उपकार्यकारी निर्देशक श्रेष्ठले 'बदनाम नगर्नुस्' भनेपछि सांसद झोक्किए

इकागज |
साउन ३१, २०७८ आइतबार १७:२६ बजे

काठमाडौँ - सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर प्रकरणबारे छलफल गर्न अर्थ समिति पुगेका धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले 'हामीलाई बदनाम नगर्नुस्' भनेपछि सांसदहरू आक्रोशित बनेका छन् । श्रेष्ठले सञ्‍चारमाध्यममा आएका सूचनाहरूलाई आधार मानेर धितोपत्र बोर्डको चरित्र हत्या गर्ने काम नगर्न बताएका थिए । 

'मिडियामा आएको समाचारको भरमा 'मोरल डाउन' (चरित्र हत्या) नगरौं,' उनले भने, 'छानबिन गरौँ । त्यसपछिको निष्कर्ष के आउँछ कारबाही गरे भइहाल्यो त ।'

उनले सांसदहरूबाट शंका गरिए जस्तो 'इनसाइडर ट्रेडिङ' नभएको दाबी गरेका छन् । 'नियामक निकायका व्यक्ती कारोबारमा संलग्न भएको विषय समितिले छानबिन गरोस् । अनलाइनमा समाचार आएकै भरमा 'मोरल डाउन' गर्ने काम गर्नु भएन,' उनले भने, 'हामी पनि काम गर्ने हो । छानबिन गर्नोस्, तथ्यसहित कारोबार गर्नोस् । सदाझैं दिएको निर्देशन पालना गर्न तयार छौँ । न्युजका लागि न्युज राख्ने काम भइरहेको छ । मिडियाले 'म्यानुपुलेसन' गरेको छ ।'

श्रेष्ठको ठाडो शैलीमा आएको जवाफलाई खण्डन गर्दै सांसद रामकुमारी झाक्रीले 'रक्षात्मक भएर समितिमा नबोल्न' चेतावनी दिइन् । त्यसलगत्तै अर्का सांसद जयकुमार राईले त उनको प्रस्तुतिलाई नै आपत्तिजनक ठहर गरे । उनले त्यस्तो अभिव्यक्ति फिर्ता लिनुपर्ने समेत बताए ।

उनले भने, 'हामी न्युजका लागि न्युज बनाउन बसेका होइनौं । सस्तो लोकप्रियताका लागि छलफल नगरौं भनेर दिनुभएको प्रस्तुतिमा मेरो आपत्ति छ । प्रश्न उठेको विषयमा छलफल गर्न नहुने ? हामीमाथि प्रश्न उठेपछि जवाफ दिनैपर्छ ।' चर्काचर्कीको स्थिति हुने देखिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नै श्रेष्ठको अभिव्यक्तिका लागि माफी नै माग्नुपर्‍यो । 



Author

थप समाचार
x