अर्थ / बाणिज्य

प्लास्टिकको झोला बाेक्‍न प्रतिबन्ध लगाउन सर्वोच्चको आदेश

इकागज |
साउन ३१, २०७८ आइतबार २०:१३ बजे

काठमाडौँ – सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले बजेट वक्तव्यको १६० औं बुँदा कार्यान्वयन गर्न आदेश दिएको हो । १५ जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै १ साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला पूर्ण रुपमा प्रतिबन्ध लगाउने भनिएको र पटकपटक आदेशसमेत भएको भन्दै अदालतले प्रभावकारी कार्यान्वयनका लागि १० दिनभित्र सम्बन्धित निकायले गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारीको कार्ययोजना बनाउन भनेको छ ।

सर्वोच्चको यो आदेशसँगै २० भदौदेखि देशभर ४० माइक्रोनभन्दा पातलो पोलिथिनको झोला प्रयोग गर्न नपाइने भएको छ । ‘यो आदेश भएको मितिले २१ औं दिनबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात र प्रयोगमा पूर्ण रोक लगाउनेसम्बन्धी ०७८/७९ को बजेट वक्तव्यको बुँदा नम्बर १६० को उल्लेखित प्रावधान देशभर लागू गर्ने,’ सर्वोच्चले भनेको छ । अदालतले मुख्यसचिवको नेतृत्वमा संयन्त्र बनाएर कार्ययोजना कार्यान्वयन भए नभएको अनुगमन गर्न र प्रत्येक दुई महिनामा रिपोर्ट पेश गर्नसमेत आदेशमा भनेको छ । 



Author

थप समाचार
x