अर्थ / बाणिज्य

सेयर बजार करेक्सन हुँदै

इकागज |
मंसिर २३, २०७७ मंगलबार १६:५४ बजे

काठमाडौंः सेयर बजार परिसूचक करेक्सन हुने र बढ्ने क्रम देखिएको छ । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता नियामक निकायले कडाइँ गर्ने संकेत पाएर आइतबार लगानीकर्ता सेयर बेचेर बाहिरिन खोज्दा नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) १२३ अंकले घटेर १,९३२.११ अंकमा अडिएको थियो । त्यसयता सोमबार पुनः बढेको बजार मंगलबार घटेको छ । सोमबार ७२.२८ अंकले बढेर नेप्से परिसूचक २००४.३९ बिन्दूमा पुगेको थियो । मंगलबार सेयर बजार परिसूचक ९.०४ बिन्दूले बढेर १९९५.३५ अंकमा रोकिएको छ । सेयर बजार बढ्दा केही लगानीकर्ता कमाएर बाहिरिन खोज्छन्, जसले गर्दा बजारमा बिक्रीको चाप बढ्छ । 

बजार निरन्तर बढेपछि गत साता धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको थियो भने नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा कडाइँ गर्ने बताएको थियो । यसको असर सेयर बजारमा देखिएको हो । यसको तत्कालीन प्रभाव बजारमा देखिएपनि बजार स्वस्थकर रुपमा अघि बढेको विश्लेषकहरु बताउँछन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितोमा १२० दिनको औसत मूल्यका आधारमा मूल्य निर्धारण गरी त्यसको ७० प्रतिशत सम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । बजार तीव्र रुपमा बढेपछि नियामकले बजारमा कडाइँ गर्ने संकेत गरेपछि लगानीकर्ता केही हच्किएका हुन् । यद्यपि, बजार करेक्सन हुने र बढ्ने क्रमले बजार स्वस्थ ढंगले बढेको देखिन्छ । मंगलबार कारोबार सुरु भएपछि बढेको बजार कारोबार अवधिको मध्यतिर घट्ने त्यसपछि पुनः बढेर बजार बन्द हुनुअघि घटेको थियो । 


मंगलबार बजार ९.०४ अंकलले घटेर १,९९५.३५ अंकमा रोकिएको छ । मंगलबार नेप्सेमा २०२ कम्पनीका ५ अर्ब ७१  करोड ९४ लाख रुपैँया मूल्य बराबरका एक करोड २५ लाख ६६ हजार नौ सय ६१ कित्ता सेयर ४८ हजार आठ सय एक कारोबारमार्फत् किनबेच भएको छ । 

अहिले बजार पुँजीकरण २६ खर्ब ७४ अर्ब ५० करोड रुपैँया छ । 

मंगलबार सेयर बजारमा जलविद्युत् र म्युचुअल फण्ड बाहेक अन्य सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । 

एभरेष्ट इन्स्योरेन्स कम्पनीको (प्रवद्र्धक समूह)को सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेकर लागेको थियो । उक्त कम्पनीको सेयर मूल्यमा आज २८ रुपैँया प्रतिकित्ताले कमी आई अन्तिम कारोबार मूल्य २५२ रुपैँया रहेको छ । त्यस्तै, युनिलिभर नेपाल लिमिटेड, विशाल बजार कम्पनी, सेन्ट्रल फाइनान्स लिमिटेड तथा नेपाल सेवा लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य घटेको छ । 


 


Author

थप समाचार
x