अर्थ / बाणिज्य

सरकारले आश्वासन मात्रै दिए आन्दोलन गर्ने उखु किसानको चेतावनी

इकागज |
भदौ ६, २०७८ आइतबार १८:५५ बजे

काठमाडौँ – उखु किसानका समस्या सम्बोधन गर्न संयुक्त किसान संगठनले सरकारको ध्यानाकर्षण गराएको छ । उखु किसानले चिनी मिल र उद्योगीबाट भुक्तानी पाउन बाँकी हुँदा पनि सरकारले यसतर्फ चासो नदेखाएपछि आफूहरूले सरकारको ध्यानाकर्षण गराउनु परेको संयुक्त किसान संगठनको भनाइ छ ।

अघिल्लो सरकारलेजस्तै यो सरकारले पनि उखु किसानको भुक्तानी उपलब्ध गराउन सहयोग गर्ने आश्वासनमात्र दिए आफूहरू सरकारविरुद्ध आन्दोलनमा उत्रिने संयुक्त संगठनले चेतावनी दिएको छ । ‘यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरेमा चिनी उद्योगी र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने स्पष्ट पार्न चाहन्छौं,’ अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल प्रगतिशील किसान संघका इञ्चार्ज कृष्ण राना, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदीले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । 


देशको अर्थतन्त्र र राजनीतिक परिवर्तनबाट किसानहरूको अवस्थामा परिवर्तन नआएको उनीहरूले बताएका छन् । विचौलिया, दलाल र दलालका कारण कृषि उपजहरूले बजार नपाउनु, वस्तुको मूल्य आफैले निर्धारण गर्न नपाउनु, उत्पादन गरेको वस्तुमा किसानहरूले अत्यन्तै कम मूल्य पाउनु तर उपभोक्ता तथा आम सर्वसाधारणले अत्यधिक मूल्य चुकाउन वाध्यता रहेको उनहरूको आपत्ति छ ।

‘बेचिएको वस्तुको वर्षौसम्म भुक्तानीसमेत प्राप्त गर्न नसक्नुले किसानहरूमाथि शोषण मात्रै भइरहेको छैन, उनीहरूका चहराइरहेका घाउमाथि नून–चुक थप्ने काम निरन्तर हुँदैआएको छ,’ संयुक्त संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उखु किसानहरूले चिनी मिल तथा अन्य व्यापारीहरूलाई उखु बिक्रि गरेपछि पनि वर्षौंदेखि भुक्तानी पाउन नसक्नु दुःखद रहेको उनीहरूको अपत्ति छ । ‘यो उखु उत्पादक किसानहरूका लागि पीडादायक कुरा हो । उखु किनेर पैसा नतिर्ने, वर्षौ वर्ष झुलाएर राख्ने उद्योगी, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि राष्ट्रिय लज्जाको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।  यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उखु किसानहरूको भुक्तानी दिने आश्वासन दिए पनि भुक्तानी नदिँदा उखु किसानहरूले पुनः उस्तै पीडा भोग्नु परेको किसानहरूको गुनासो छ ।

‘ओली नेतृत्वको सरकारलेजस्तै यो सरकारले पनि आश्वासनमात्रै दिए पुनः संघर्षमा उत्रिनुपर्ने स्थिति सिर्जना भएको छ । तसर्थ वर्तमान सरकारले ओली सरकारलेजस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ठ भुक्तानी गर्न माग गर्दर्छौं,’ संयुक्त किसान संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


Author

थप समाचार
x