अर्थ / बाणिज्य

जाँदाजाँदै साउदले भने, 'अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिएको छु' (पूर्णपाठ)

इकागज |
भदौ ८, २०७८ मंगलबार १७:४८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट चन्द्रसिंह साउदले अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिएको बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् । 

उनले एकाघरको पारिवारिक सदस्यमार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोपविरुद्ध आफ्‍नो बचाउमा केही तर्क राख्दै राजीनामा दिएका हुन् । 


उनले नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीले सूचीकृत नभएको कम्पनीको सेयर खरिद गर्न रोक नलगाएको दाबी गरेका छन् । त्यसबाहेक २०७३ भदौ १५ को सञ्‍चालक समितिको बैठकबाट स्वीकृत सञ्‍चालक आचार संहितामा नियमित दोश्रो बजारबाट बाहेक कुनै कम्पनीको संस्थापक शेयर खरिद गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको उल्लेख गरेका छन् । 
नेप्से धितोपत्रहरुको दोस्रो बजार कारोबारका लागि कारोबारस्थल उपलब्ध गराउने निकाय भएको हुँदा यसले नीति नियम तर्जुमा गर्ने नियमनकारी निकायको जस्तो भूमिका समेत निर्वाह नगर्ने हुँदा बजार मूल्यमा अनुचित प्रभाव पार्न नसक्ने उनको भनाइ छ । 

उनले नेप्सेको प्रमुख कार्यकारीको हैसियतमा पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यस सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुयाउन आजैका मिति देखि लागु हुने गरी राजीनामा दिएको बताए । तर, उनले आफ्नो कार्यकाल सकिनु झन्डै एक महिना अघि राजीनामा बुझाएका हुन् । 

यस्तो छ उनले जारी गरेको प्रेस विज्ञप्ति :

पछिल्लो समयमा सेयर बजारमा सूचीकृत नभएको सर्वोत्तम सिमेन्टको सेयर खरिद सम्बन्धमा सञ्चार माध्यमहरुमा मेरो नाम जोडेर आएका समाचाहरुका बारेमा केही कुरा प्रस्ट पार्नु पर्ने भएकाले यो विज्ञप्ति जारी गरेको छु ।

नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा "नेप्सेलाई पूर्व जानकारी नदिई आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर बिक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ती प्राप्त गर्नु अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको शेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको शेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह विक्री गर्न सकिने छ भन्ने व्यवस्था रहेको छ । कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिदैन ।

यसैगरी मिति २०७३/०५/१५ को संचालक समितिको बैठकबाट स्वीकृत सञ्‍चालक आचार संहिताको बुँदा नं (च) को ३ मा नियमित दोश्रो बजारबाट बाहेक कुनै कम्पनीको संस्थापक शेयर खरिद गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको छ

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ४७ मा सेयर जारी गर्ने कम्पनीले नियमावली बमोजिम तयार गर्नुपर्ने विवरणपत्र विक्री प्रस्ताव तथा विवरण पुस्तिकाको एक प्रति स्वीकृतिको लागि बोर्डुमा पेश गर्दा सोको एकप्रति सम्बन्धित धितोपत्र बजारमा समेत पेश गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोमा सर्वोत्तम सिमेन्ट सो प्रक्रियामा समेत आइनसकेकोले उक्त कम्पनीको संस्थापक सेयर खरिद गर्दा भित्री सूचना प्राप्त हुने अवस्था देखिदैन ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ मा संस्थापक शेयर प्राथमिक निष्काशन भएको ३ वर्षसम्म दोस्रो बजारमा बिक्री गर्न नपाइने हुँदा तत्कालको सूचनाका आधारमा खरिद गरी दोस्रो बजारबाट लाभ लिने अवस्था पनि विद्यमान छैन । साथै प्राथमिक बजारमा सेयर निष्काशन गर्ने प्रक्रियामा नेप्सेको कुनै भूमिका हुदैन 1

नेप्से धितोपत्रहरुको दोस्रो बजार कारोबारका लागि कारोबारस्थल उपलब्ध गराउने निकाय भएको हुँदा यसले नीति नियम तर्जुमा गर्ने नियमनकारी निकायको जस्तो भूमिका समेत निर्वाह नगर्ने हुँदा बजार मूल्यमा अनुचित प्रभाव पार्न सक्ने देखिदैन ।

तसर्थ मैले नेप्सेको प्रमुख कार्यकारीको हैसियतमा पदीय मर्यादा विपरीत कुनै काम नगरेको हुँदा यस सम्बन्धी अनुसन्धान कार्यमा सहयोग पुयाउन आजैका मिति देखि लागु हुने गरी राजीनामा दिएको छु ।


Author

थप समाचार
x