Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

राजीनामाको नैतिक दबाबमा धितोपत्र बोर्डका अध्यक्ष

निलम्बनविनाको छानबिन गर्ने अर्थ मन्त्रालय आफैं नैतिक संकटमा

इकागज |
भदौ ९, २०७८ बुधबार १४:५२ बजे

काठमाडौँ – सर्वोत्तम सिमेन्ट उद्योगको सेयर विवादमा तानिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना नैतिक संकटमा परेका छन् । ढुंगानासँगै विवादमा मुछिएका चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)को प्रमुखबाट राजीनामा दिएपछि उनी नैतिक दबावमा परेको जानकारहरू बताउँछन् ।

'उहाँलाई (भिष्मराज ढुंगाना) छानबिनको प्रक्रिया अघि बढ्नेबित्तिक्कै नैतिक संकट त परिसक्यो,' राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्‍जिवी नेपालले भने, 'तर, नैतिकता भन्ने विषय व्यक्तिको सोचमा भरपर्छ । नैतिकवान व्यक्तिले आफ्नो नैतिकतामा प्रश्न उठ्ने स्थिति आउँदा एकछिन पनि पदमा बस्न रुचाउँदैन ।' 


धितोपत्र बोर्डका अध्यक्ष समेत भइसकेका नेपालले आरोपितमाथि छानबिन गर्दा नियामक निकायले कानुनी बाटो रोज्नुपर्ने तर्क गरेका छन् । अर्थ मन्त्रालयले कानुन सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ । तर धितोपत्र सम्बन्धी कानुनले व्यवस्था गरेको छानबिन समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाउनु उपयुक्त रहेको उनले बताए । 

संसद्‌को अर्थ समितिले गरेको सवालजवाफमा नेप्सेका तत्कालीन प्रमुख साउदले आफूले सर्वोत्तमको सेयर किन्दा कानुनी छिद्रतामा आधारित भए पनि नैतिक प्रश्न उठ्ने हेक्का नराखेको स्वीकारेका थिए । उनले मंगलबार राजीनामा दिँदा समेत छानबिनमा सहयोग पुर्‍याउने उद्देश्य राखेको भन्दै राजीनामा दिएको बताएका थिए ।

अर्थ मन्त्रालय आफै नैतिकता संकटमा

आरोपितका रुपमा बोर्डका अध्यक्ष ढुंगानामाथि नैतिकताको प्रश्न उठाइरँहदा अर्थ मन्त्रालयको गतिविधि समेत नैतिकताको सवालमा सन्देहपूर्ण देखिएको छ । बोर्डका अध्यक्ष माथि अर्थ मन्त्रालयले छानबिन गरिरहँदा प्रमाण जुटाउन बोर्डबाटै कागजात मगाउनुपर्ने हुन्छ । तर, अध्यक्षमा आरोपित ढुंगाना बसिरहँदा उनले स्वार्थ बाझिएको मुद्दामा प्रभाव राख्‍ने जोखिम रहेकाले उनलाई तत्काल निलम्बन गर्नुपर्ने जानकारहरू बताउँछन् ।

ढुंगानालाई निलम्बन नगरि छानबिन अघि बढाउँदा अर्थ मन्त्रालय आफैं नैतिक संकटमा परेको विज्ञहरू बताउँछन् । अर्थ समितिकी सदस्य रामकुमारी झाक्रीसँग अन्य सांसदहरूले आरोपित पदाधिकारीहरूलाई निलम्बन गरेर मात्रै छानबिन गर्नुपर्ने माग राखेका थिए । खासगरी सांसद झाक्रीले 'प्रमाण नष्ट पार्ने' र 'कर्मचारीलाई प्रभावमा राख्‍ने' जस्ता गतिविधिले छानबिन प्रभावित हुने जोखिम देखिएको भन्दै निलम्बन गर्नुपर्ने तर्क राखेकी थिइन् ।

छानबिन प्रक्रियालाई सहयोग पुर्‍याउने भन्दै नेप्सेका प्रमुखबाट चन्द्रसिंह साउदले राजीनामा बुझाएपछि धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना नैतिक दबावमा परेका छन् । ढुंगानालाई निलम्बन नगरि छानबिन अघि बढाउँदा अर्थ मन्त्रालय आफैं पनि नैतिक संकटमा परेको विज्ञहरू बताउँछन् ।

नैतिकताको उच्च खडेरीमा परेका धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना भने कानुनी रुपमा आफू बलियो रहेको बताउँदै छानबिन समितिलाई चुनौति दिँदै आएका छन् ।
आर्थिक क्षेत्रका मुद्दामामिलासँग सरोकार गर्ने कानुनी जानकारहरू समेत बोर्डका अध्यक्षले नैतिकताका आधारमा पदको जिम्मेवारीबाट अलग्गिनुपर्ने बताउँछन् ।

अधिवक्ता गान्धी पण्डितले कानुनीमा राजीनामा दिनैपर्ने वा निलम्बन गर्नुपर्ने प्रावधान नभए पनि आरोपितले स्वार्थ बाझिएको विषयमा तत्काल राजीनामा दिनुपर्ने बताए । उनले भने, 'धितोपत्र बोर्डका अध्यक्ष नै छानबिनमा परेपछि स्वत: छानबिनमा स्वार्थ बाझिन्छ । त्यसैले उनले आफूलाई बोर्डको कामकारबाहीबाट अलग राख्नुपर्छ ।'

ढुंगानाले राजीनामा नै नदिए पनि बिदामा बसेर अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्ने पण्डितको भनाइ छ । उनले भने, 'बोर्डको अध्यक्षमै रहेर काम गर्दा छानबिन समितिलाई आवश्यक पर्ने प्रमाणहरूमा उनको प्रत्यक्ष नियन्त्रण हुन्छ । त्यसमाथि कर्मचारीले समेत हाकिमको आदेश मान्नुपर्ने बाध्यता हुन्छ ।'  

धितोपत्र बोर्ड आफैले छानबिन समिति नबनाएकोमा पण्डितले आश्चर्य व्यक्त गरेका छन् । उनका अनुसार बोर्ड आफैले कानुनबमोजिम न्यायाधिशको नेतृत्वमा छानबिन समिति बनाउनुपर्ने हुन्छ । तर हालसम्म कानुनबमोजिम छानबिन समिति नबनाएर बोर्डको भूमिकामाथि नै प्रश्न चिन्ह खडा भएको उनको तर्क छ ।  

नियामक नै मुछिएर इनसाइडर ट्रेडिङ गरेको यो नेपाली पुँजीबजारकै दुर्लभ घटना हो । यस्ता घटनाको छानबिन सही ढंगले अघि बढाएर कारबाहीको दायरामा ल्याउन सकेमा अन्य इनसाइडर ट्रेडिङको समेत भण्डाफोर हुने पण्डितले बताए ।

 


Author

थप समाचार
x