तादीखोलाको एक लाख ६० हजार कित्ता शेयर स्थानीयलाई
त्रिशूली- बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएका छन् ।
कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी शेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो ।
दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् ।
चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर-५ र ६ वडा, तादी- ४ र पञ्चकन्या- ४ का जनतालाई असर पर्ने देखिएको छ ।
ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता रु १०० का दरले एक लाख ६० हजार कित्ता शेयर दिन लिखित सहमति जनाएका थिए ।
सहमति पछि ११ सदस्य ‘सहजीकरण समिति’ समेत गठन गरिएको समितिका सदस्य दुप्चेश्वर-६ का राजकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार यस समितिले अति अससर पर्ने दुप्चेश्वर-५ र ६ तादी-४ र पञ्चकन्या-४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ ।
एकै कम्पनीको दोहोरो शेयर भर्न नपाइने भएकाले हाल निष्कासन गरिएको आइपिओ उनीहरूलाई नभर्न आग्रह गरिएको तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया