पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी
काभ्रे – पाँचखाल नगरपालिका र नबिल बैंकबीच साझेदारी भएको छ । उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गर्दै साझेदारी भएको हो ।
पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारीमार्फत नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालीम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम र तालीममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।
पाँचखाल नगरमा भएको सम्झौता कार्यक्रममा नगर उपप्रमुख दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा, नबिल दिगो उद्यमशील बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा हातेमालो गर्ने बताइन् । सम्झौताले रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने नबिल बैंक बागमती प्रदेश प्रमुख श्रेष्ठले भने ।
बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखबाट सञ्चालन गरी बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको श्रेष्ठले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया