अर्थ / बाणिज्य

सेयर बजारमा 'बियरिस ट्रेन्ड'को संकेत

एक सातामा १७७ अंकले खस्कियो नेप्से, एकैदिन ६९ अंकको पहिरो

इकागज |
भदौ १५, २०७८ मंगलबार १५:४१ बजे

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साताको बिहीबारयता घटिरहेको बजार एक सातामा १७७.८४ अंकले खस्किएको हो । सेयर बजारमा देखिएको यस्तो गिरावटले 'बियरिस ट्रेन्ड'को संकेत गरेको छ ।

गत बिहीबारसम्म नेप्से परिसूचक बढेर ३२०३ को उच्चतम् बिन्दूमा पुगेको थियो । मौद्रिक नीतिले सेयर धितो कर्जामा कस्ने नीति लिएपछि त्यसको प्रभाव बजारमा देखिन थालेको हो । कोभिड-१९ विरुद्ध जारी निषेधाज्ञा खुकुलो बन्दै गएसँगै आर्थिक गतिविधिहरू चलायमान बन्दै गइरहेको छ । बैंकहरूले तरलता चाप थेग्नका लागि ब्याजदर बढाउन थालिसकेका छन् । जसले सेयर बजार घटाउन बल पुर्‍याइरहेको छ । मंगलबार नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ बिन्दुमा पुगेको छ । यो २.२७ प्रतिशतको गिरावट हो ।


कारोबारमा आएका सबै समूहका परिसूचक कमजोर छन् । विकास बैंक, जलविद्युत्‌, फाइनान्स र अन्य समूहका परिसूचक तीन प्रतिशतभन्दा बढी दरले घटेका छन् । व्यापार, निर्जीवन बीमा, म्यानुफ्याक्चरिङ, माइक्रोफाइनान्स, जीवन बीमा र इन्भेष्टमेन्ट समूहका परिसूचक दुई प्रतिशतभन्दा बढी दरले खस्किएका छन् ।

बैंकिङ र होटल तथा पर्यटन समूहका परिसूचक एक प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । रु रु जलविद्युत्‌ कम्पनीको सेयर मुल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ । ९.९९ प्रतिशतले घटेर यो कम्पनीको सेयर मुल्य एक हजार तीन सय ४६ रुपैयाँ प्रति कित्ता कायम भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको अत्यधिक सेयर किनबेच भएको छ । एक अर्ब रुपैयाँभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर किनबेच भएको छ । कुल सेयर कारोबार १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ छ । एक लाख ३० हजार सात सय ७४ पटकको कारोबारमा दुई करोड ३१ लाख कित्ता सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x