सेयर बजारमा एक वर्षयताकै भारी गिरावट
१०८ अंकले घटेर नेप्से २८१८.७२ बिन्दुमा, १७ दिनमा ३६२ अंकले घट्यो
काठमाडौँ - लगातार ओरालो लागिरहेको सेयर बजारमा आइतबार भने एक वर्षयताकै भारी अंकको गिरावट आएको छ । एकैदिन १०८.२६ अंकको गिरावट आएको छ । गत वर्ष मंसिर २१ मा नेप्से परिसूचक १२३ अंकले घटेको थियो । त्यसपछि फागुन १६ मा नेप्से ८० अंकले झरेको थियो । यसबीच एक सयभन्दा बढी अंकले खस्किएको यो दोस्रोपटक हो । ३.७ प्रतिशतले घटेर नेप्से २८१८.७२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा भारी गिरावट आएपछि सेयर लगानीकर्ताहरूले आन्दोलनको तयारी गरिरहेका छन् । सेयर लगानीकर्ता रामकृष्ण ढकालको संयोजक्तवमा पूँजीबजार सुधार संघर्ष समिति समेत गठन भइसकेको छ । उनीहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गरेका छन् । 'मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि'नेपाल राष्ट्रबैंकले मार्जीन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमा लगाएको उनीहरूको आरोप छ । मौद्रिक नितिमार्फत समग्र पूँजी बजारको विकासको बाधक बनेको भन्दै यो व्यवस्था तुरुन्त खारेज गर्न माग गरेका छन् ।
कोभिड-१९ रोकथामका लागि सरकारले लगाउँदै आएको निषेधाज्ञा क्रमश: खुकुलो हुँदै गएपछि वाणिज्य बैंकहरूको कर्जामा चाप पर्न थालेको छ । बैंकहरूले तरलता व्यवस्थापन गर्न कठिन भएपछि राष्ट्र बैंकले मार्जीन प्रकृतिको कर्जामा कडाइ गरेको थियो । जसको प्रभाव सेयर बजारमा देखिन थालेको हो ।
१ बजेसम्म नेप्से परिसूचक पाँच प्रतिशतभन्दा बढी दरले घटेपछि कारोबार नै बन्द भएको थियो । त्यतिबेलामा नेप्से परिसूचक १४७.३१ प्रतिशतको फराकिलो अंकले घटेको थियो । ४० मिनेटपछि खुलेको नेप्से परिसूचकमा झिनो सुधार देखिए पनि एक सयभन्दा बढी अंकको अन्तर घट्न सकेन । फाइनान्स र विकास बैंक समूहको परिसूचकमा सात प्रतिशतभन्दा बढी दरमा गिरावट आएको छ । कारोबारमा आएका १४ कम्पनीबाहेक सबै कम्पनीको सेयर मूल्यमा भारी अंकले गिरावट आएको थियो ।
१२ कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ । २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले घटेका छन् । कारोबार रकम ११ अर्ब २४ करोड रुपैयाँ बराबर छ । एक लाख २९ हजार एक सय ४२ पटकको किनबेचमा दुई करोड ३० लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर किनबेच भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया