Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

अर्थ / बाणिज्य

दुई दिनको गिरावट एकैदिनमा उकासियाे

१६१.६६ अंकले बढ्यो नेप्से, विकास बैंक, फाइनान्स र जलविद्युत्‌मा बहार

इकागज |
भदौ २१, २०७८ सोमबार १५:२६ बजे

काठमाडौँ - दुई दिनको सेयर कारोबारमा देखिएको गिरावट एकै दिनमा उकासिएकाे छ ।  नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) मा गत बिहीबार र आइतबार गरि १५८ अंकको गिरावट आएको थियो । तर दुई दिनमा घटेको अंक बराबर नै सोमबार पुरानै अवस्थामा आएकाे छ ।  

आइतबार नेप्से परिसूचक १०८ अंकले घटेको थियो । पाँच प्रतिशतले घटेपछि कारोबारकोबीचमा ४० मिनेटका लागि कारोबार स्थगित नै भएको थियो । 
गत बिहीबार नेप्से परिसूचक ५०.१३ अंकले घटेको थियो । यसरी दुई दिनमा १५८.२६ अंकको गिरावट आएको थियो । तर सोमबारको कारोबारले दुई दिनको गिरावटलाई रिकभर मात्रै गरेन । अतिरिक्त ३.२७ अंकले वृद्धि भएर नेप्से परिसूचक २९८०.५० बिन्दुमा पुगेको छ । नेप्से परिसूचक ५.७३ प्रतिशतले बढेको छ । 


मौद्रिक नीतिमार्फत मार्जीन प्रकृतिको कर्जाको सीमा कडाइ गरेकाले सेयर बजारमा गिरावट आएको भन्दै लगानीकर्ताहरू आन्दोलित भएका थिए । सोमबार नै अर्थमन्त्री जनार्दन शर्माले टेलिफोन मार्फत पुँजीबजारको समस्या समाधान गरेका थिए । लगानीका लागि अत्यन्तै संवेदनशील मानिने यो बजारमा नियामक निकायका पदाधिकारीहरूले गर्ने भाषण, विज्ञप्ति वा टिप्पणी जस्ता विषयले प्रभाव पार्दै आएको देखिन्छ । राष्ट्र बैंक ऐनमा निहित रहेर काम गर्ने राष्ट्र बैंकको स्वायत्ततामाथि असर पार्ने गरि अर्थमन्त्रीले वक्तव्यबाजी गर्ने र मन्त्रीको सचिवालयबाट यसरी सूचना प्रवाह गर्नुले बजारमा सट्टेबाजीले अवसर लिनसक्ने जोखिम रहेको विज्ञहरू बताउँछन् । 

विकास बैंक, फाइनान्स र जलविद्युत्‌ समूहका परिसूचक ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । बैंकिङ समूहको परिसूचक ४.०७ प्रतिशतले बढेको छ ।
४५ कम्पनीको सेयर मुल्य बढेर सर्किट ब्रेकर लागेको छ । ३० कम्पनीको सेयर भाउ ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । सेयर कारोबार घटेर नौ अर्ब ८० करोड रुपैयाँ भएको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर किनबेच भएको छ ।


Author

थप समाचार
x