अर्थ / बाणिज्य

सेयर बजारमा फेरि गिरावट

किन आइरहेको छ तीव्र उतारचढाव ?

इकागज |
भदौ २२, २०७८ मंगलबार १५:५४ बजे

काठमाडौँ – सोमबार ठूलो अंकको रिकभरी भएको सेयर बजारमा फेरि गिरावट आएको छ । १७ दिनसम्म लगातार ओरालो लागेर सोमबार एकैदिन १६१ अंकको फराकिलो अन्तरले नेप्से परिसूचक बढेको थियो । तर यो रिकभरी टिक्न सकेन । मंगलबार ४४.१८ अंकले नेप्से खस्किएको छ । १.४८ प्रतिशतले झरेर नेप्से २९३६.६० बिन्दुमा पुगेको हो । कतिपयले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमामा गरिएको फेरबदललाई नेप्सेमा देखिएको उतारचढावसँग जोडेर हेरेका छन् ।

आइतबार १०८ अंकले बजार ओरालो लागेपछि केही लगानीकर्ता आन्दोलनमा उत्रिएका थिए । ती आन्दोलकर्ताहरूको मागप्रति अर्थमन्त्री जनार्दन शर्माले समेत चासो राख्दै राष्ट्र बैंकका गभर्नरलाई टेलिफोन नै गरेर समस्या समाधान गर्न अर्‍हाएको खबर मन्त्रीकै सचिवालयले बाहिर ल्यायो । जसकारण नेप्सेमा सुधार आउन थालेको टिप्पणी केही विश्लेषकहरूले गरेका थिए । तर यसरी रिकभरी भएको सेयर बजार मंगलबारसम्म टिक्न भने सकेन ।


लगानीको क्षेत्रमा एउटा शब्दावली छ - डेड क्याट बाउन्स । भनिन्छ, उचाइबाट खसेको मृत बिरालो भुइमा झरेपछि जसरी उफ्रिन्छ, त्यसैगरी सेयर बजारमा लगातार ओरालो लागेको परिसूचकको ग्राफ निश्चित समयका लागि उकालो लाग्छ ।

तर यसरी उकालो लागेको ग्राफ छोटो समयमा नै झर्छ, जसरी त्यो मृत बिरालो फेरि भुइमा खस्छ । तर सेयर बजारमा ठूला विद्वानहरूले पनि डेड क्याट बाउन्सलाई ठ्याक्कै अनुमान लगाउन सकेका छैनन् । नेपाली सेयर बजारमा देखिएको तिव्र उतारचढावले बजार अझै ओरालो लाग्ने विश्लेषकहरूको अनुमान छ । यस्तो उतारचढावमा लगानी गर्नु जोखिमयुक्त हुने समेत भनिएको छ ।

कारोबारमा आएकामध्ये दुई समूहबाहेक सबै समूह कमजोर छन् । माइक्रोफाइनान्स, निर्जीवन बीमा र होटल एन्ड टूरिजम्‌ समूहमा दुई प्रतिशतभन्दा ठूलो गिरावट आएको छ ।

सेयर बजार क्रमश: ओरालो लागिरहेको समयमा सानिमा लाइफ इन्स्योरेन्समा भने ठूलो वृद्धि भएर सर्किट ब्रेकर नै लागेको छ । परिसूचक घटेसँगै नेप्से कारोबारमा समेत मन्दी देखा पर्न थालेको छ । सात अर्ब ४९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार उच्च छ ।  


Author

थप समाचार
x