अर्थ / बाणिज्य

विद्युतीय प्रणालीमार्फत गरिने कारोबारको सीमा हेरफेर

प्रिपेड कार्डबाट एक दिनमा २० हजार मात्रै खर्च गर्न पाइने

इकागज |
भदौ २९, २०७८ मंगलबार १७:१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकले प्रिपेड कार्डबाट गरिने कारोबारको सीमा घटाएको छ । केन्द्रिय बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन - २०७८ जारी गर्दै यस्तो कारोबार सीमामा कडाइ गरेको हो ।

हालसम्म एकपटकमा प्रिपेड कार्डमार्फत २५ हजार रुपैयाँसम्म भुक्तानी कारोबार गर्न पाइने व्यवस्था थियो । तर अब एकपटकमा १० हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने भएको छ । एक दिनमा २० हजार रुपैयाँसम्म मात्रै कारोबार गर्न पाउने उल्लेख छ । त्यस्तै एक महिनामा दुई लाख रुपैयाँको सीमा निर्धारण गरिएको छ । डेबिट कार्डमार्फत गरिने कारोबारको सीमा भने यथावत राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रिपेड कार्ड जारी गर्दा प्रति ग्राहक अधिकतम एक लाख रुपैयाँ  र कार्ड जारी गर्न अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले अधिकतम २५ हजार रुपैयाँसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने उल्लेख छ ।


कन्ट्याक्टलेस कार्डमार्फत गरिने कारोबारको सीमा बढाएको छ । यस्तो सीमा दुई हजार रुपैयाँ राखिएकोमा नयाँ व्यवस्थाअनुसार पाँच हजार रुपैयाँसम्म कारोबार गर्न पाइने भएको छ ।

बैंक खाता र वालेटबीचको कारोबारको सीमा बढ्यो
केन्द्रिय बैंकले वाणिज्य बैंक खाता र मोबाइल वालेटबीचको कारोबारको सीमा बढाएको छ । अब बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा एक पटकमा ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने भएको छ । यसअघि एकपटकमा २५ हजार रुपैयाँभन्दा बढी ट्रान्सफर गर्न पाइँदैन थियो । तर एक दिनमा एक लाख रुपैयाँभन्दा बढी ट्रान्सफर गर्न नपाइने उल्लेख छ ।

मासिकरुपमा यस्तो कारोबार १० लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । हालसम्म यस्तो कारोबार मासिक पाँच लाख रुपैयाँसम्म मात्रै गर्न पाइन्थ्यो । संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिनेछ । 

मोबाइल बैंकिङमार्फत कारोबार गर्दा लाग्ने शुल्क
एउटा बैंकबाट अर्को बैंकमा मोबाइल बैंकिङमार्फत कारोबार गर्दा लाग्ने शुल्कमा सीमा लगाएको छ । ५० हजार रुपैयाँसम्म कारोबार गरेमा एकपटक १० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ ।  त्यसभन्दा बढी एक लाख रुपैयाँसम्म कारोबार गरेमा २० रुपैयाँ र एक लाख रुपैयाँभन्दा बढी कारोबार गरेमा ३० रुपैयाँ लाग्ने उल्लेख छ ।


Author

थप समाचार
x