ब्याजदर बढ्यो : सेयर बजार अझै घट्ने संकेत
काठमाडौँ - वाणिज्य बैंकहरूले आकर्षक ब्याज दिएर निक्षेप बढाउन थालेका छन् । लगानीयोग्य रकम (तरलता)मा चाप पर्न थालेपछि बैंकहरूले निक्षेपको ब्याजदर बढाएका हुन् । बैंकहरूले एक वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ब्याजदर बढाएर १० प्रतिशतसम्म पुर्याएका छन् ।
कोभिड-१९ का कारण पछिल्लो दुई वर्षमा बैंकहरूले लगानी बढाउन सकेका थिएनन् । जसकारण उनीहरूले मुद्दती निक्षेपमा ५-६ प्रतिशतसम्म ब्याज उठाउँदै आएका थिए । बैंकको निक्षेपमा लगानी गर्दा खासै मुनाफा नपाउने भएपछि लगानीकर्ताहरूले सेयर बजारमा लगानी बढाएका थिए । बैंकले समेत अन्य क्षेत्रमा जोखिम देखेपछि सेयर बजारमा कर्जा प्रवाह गर्दै आएको थियो । पुँजीबजारमा लगानी ओहिरिँदै गएपछि बैंकहरूले पनि हौसिएर कर्जा प्रवाह गरिरह्यो । तर निषेधाज्ञा खुकुलो हुँदै गएपछि बैंकमा लगानीयोग्य रकम जुटाउन चाप पर्न थालेको छ ।
बैंकले निक्षेपमा ब्याजदर बढाउनुको अर्को कारण हो, बजेट शून्यता । उसै पनि नेपालमा बजेट खर्च नहुने समस्या छ । तर, सरकारले समयमै बजेट ल्याउन नसक्दा मुलुक बजेटविहिन अवस्थामा पुगेको छ । सरकारले खर्च गर्नका लागि कानुनी अड्चन दखिएको छ । संसद्बाट बजेटसम्बन्धी विधेयक अनुमोदन नहुने हो भने सरकारी ढुकुटीमा रकम थन्किँदै जाने देखिन्छ ।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याइएको बजेटबाट सरकारले दुई महिनामा ८९ अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ । सदनमा पेस भएको मितिले ६० दिन नाघेपछि बुधबार अध्यादेश निष्क्रिय भइसकेको छ । अब अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पास नभएसम्म सरकारले खर्च गर्न पाउँदैन । खर्च गर्न पाए पनि सरकारले राजस्व उठाउन कुनै बाधा पर्ने देखिँदैन । दुई महिनामा सरकारले १ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व उठाइसकेको छ । राजस्व र खर्चबीच झन्डै ७८ अर्ब रुपैयाँको अन्तर देखिएको छ ।
एक त सरकारले बजेट खर्च कानुनी बन्देज छ भने अर्कोतर्फ बैंकलाई तरलता व्यवस्थापन गर्न जटिल बन्दै गइरहेको अवस्था छ । अर्थमन्त्री जनार्दन शर्मा भने राजस्व दोब्बर उठाउन भन्दै कर्मचारीलाई दबाव दिँदै आइरहेका छन् । सर्वसाधारणबाट कर असुलेर ढुकुटी भर्ने तर बजेटलाई बन्धक बनाएर खर्च गर्नै नसक्ने अवस्था निर्माण हुनुले सरकारको अक्षमतालाई पुष्टी गरेको छ ।
सेयर कारोबार घट्ने संकेत
कोभिड-१९ संक्रमणले मुलुक आक्रान्त बनिरहेको समयमा बैंक तथा वित्तीय संस्थाले सस्तोमा ब्याज दिँदा सेयर बजार बढ्न पुगेको थियो । सेयर बजारको मापन गर्ने नेप्से परिसूचक बढेर भदाै २ गते ३१९८ सम्मको उच्चतम् बिन्दुमा पुगेको थियो । सस्ताे ब्याजदरका कारण ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरू बढेका थिए ।
तर बैंकहरूले निक्षेपमा ब्याजदर बढाउन थालेपछि सेयर बजारमा गिरावट देखिन थालेको छ । भदौ २ मा कीर्तिमानी ३१९८ बिन्दुमा पुगेको नेप्से घटेर २८१२ को हाराहारीमा आइपुगेको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने मौद्रिक नीति ल्याएसँगै सेयर बजारमा सिथिलता आउने अनुमान गरिएको थियो । मौद्रिक नीतिसँगै ब्याजदरको वृद्धिले समेत पुँजीबजार क्षेत्रमा असर पार्ने देखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया