अर्थ / बाणिज्य

सेयर बजार

जलविद्युत् बाहेक सबै उपसमूहका परिसूचक उकालो लागे, कारोबार रकम पनि वृध्दि

इकागज |
मंसिर २९, २०७७ सोमबार १५:२४ बजे

काठमाडौंः सेयर बजार सन्तुलित र नियमित रुपमा बढ्न थालेको छ । यो साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५६.७२ अंक अर्थात् २.८२ प्रतिशतले बढेर २,०६७.१७ बिन्दूमा पुगेको छ । हिजो आइतबार नेप्से परिसूचक ४६.४३ अंक अर्थात् २.३६ अंकले बढेर २,०१०.४५ अंकमा पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट सेयर धितो कर्जामा कडाइँ गर्ने घोषणा गरेपछि गत साता निरन्तर घटेको सेयर बजार गत साता बिहीबार सामान्य बढेको थियो । यो साता भने आइतबार र सोमबार बजार निरन्तर बढेको छ । बजार बढ्ने क्रम शुरु भएसँगै कारोबार रकम पनि बढेको छ । यसअघि सेयर बजार परिसूचक मंसीर १७ मा यसअघि कै उच्च २,०७१.०२ अंकमा पुगिसकेको छ । करेक्सन हुँदै नियमित र सन्तुलित ढंगले बजार बढ्नु स्वस्थकर मानिन्छ ।


यसअघि मंसीर १० देखि मंसीर १७ गतेको बीचमा सेयर बजार परिसूचक अप्रत्याशित रुपमा २९० अंकले बढेको थियो । लगातारका उछालले नियामकहरु झस्किएपछि नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले सेयर बजारको उछाल अस्वभाविक मान्दै त्यसलाई सच्याउन निकट भविष्यमै केही कदम चाल्न सकिने घोषणा गरेका थिए । जसका कारण लगानीकर्ताको मनोबल कमजोर भई बजारमा बिक्रीको चाप बढ्दा गत साताभरजसो सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम रहीरह्यो । 

सोमबार नेप्सेमा २०२ कम्पनीका १ करोड २८ लाख ८८ हजार ६६ कित्ता सेयर ५७ हजार ८७ कारोबारमार्फत् ७ अर्ब २० करोड ४१ लाख ३६ हजार नौ सय २३ रुपैँया मूल्यमा किनबेच भएका छन् । 

आज प्राइम लाइफ इन्स्यारेन्सको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । प्राइम लाइफको सेयर मूल्य आज एकै दिन ७८ रुपैँयाले बढेर आठ सय ५८ रुपैँया पुगेको छ । आज ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था, नारायणी विकास बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेनस कम्पनी र स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले कमाएका छन् । सोमबार जलविद्युत् बाहेक अन्य सबै उपसमूहका परिसूचकहरु उकालो लागेका छन् । 


Author

थप समाचार
x