अर्थ / बाणिज्य

नेपाल-भारत सीमा नखुल्दा रुपन्देहीका होटल मारमा

इकागज |
असोज १२, २०७८ मंगलबार ६:५१ बजे

बुटवल – नेपाल–भारत सीमा नाका बन्द हुँदा रूपन्देहीको होटल र पर्यटन क्षेत्र मारमा परेको छ । कोभिड संक्रमण फैलन नदिनका लागि सीमानाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो ।

सीमानाका बन्द हुँदा रुपन्देहीमा सञ्चालित ३ सय बढी होटल तथा रेष्टुरेन्ट,  १ सय बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायीको भनाइ छ । निजी क्षेत्रको करिब २५ अर्ब रूपैयाँ लगानी रहेको रुपन्देहीमा सरकारले सीमा नाका बन्द गरिदिँदा संकटमा परेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई दृष्टिगत गरी जिल्लामा ठूलादेखि साना होटल सञ्चालनमा आएका थिए । जसमा कार्यरत अधिकांश कर्मचारीसमेत बेरोजगार भएका छन् । 


सिद्धार्थ होटल एसोसिएसन रुपन्देहीका अध्यक्ष तथा हानका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले हचुवाका भरमा सीमा नाका बन्द गर्दा पर्यटन क्षेत्र टाट पल्टिएको गुनासो गरे । कोभिड विरुद्धको खोप लगाएका र पीसीआर रिपोर्ट लिएर आउने पर्यटकका लागि सीमा खुल्ला गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्र बचाउनका लागि भारतीय पर्यटकको आगमनलाई सहज गर्न आग्रह गरे ।

लग्जरी इन्टरनेसनलका व्यवस्थापक पवन गोयलले पर्यटन क्षेत्रलाई बचाइराख्ने हो भने सरकारले भारतीय पर्यटक आउने वातावरण सृजना गर्नुपर्ने सुझाव दिए । ‘देशमा पर्यटन क्षेत्र नराम्रोसँग पछारिएको छ, उनले भने, ‘जसका कारण अर्बौं लगानी डुब्नाका साथै हजारौंले रोजगार गुमाएका छन् ।’

ट्राभल एसोसिएसनको साझा संस्था सोटो नेपाल लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा गुजराती समाज सार्क टुर एन्ड ट्राभलका सञ्चालक श्रीचन गुप्ताले तेस्रो देशका पर्यटक आउनमा सरकारले रोक लगाए पनि भारतीय र चीनबाट आउने पर्यटनलाई खोप लगाएका आधारमा आउन दिन सरकारसँग माग गरेका छन् ।

नेपालको पर्यटन क्षेत्र आर्थिक सबलीकरणको महत्वपूर्ण व्यवसायी भएकाले यसलाई बचाउन सरकारले नयाँ सोचका साथ योजना तथा कार्यक्रम ल्याउनसमेत गुप्ताले आग्रह गरे । कोभिडको महामारीपछि आएको संकटले पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने यातायात क्षेत्रसमेत संकटमा परेको छ । पैदलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया सीमा नाका रुपन्देहीमा पर्ने भएकाले पर्यटकलाई दृष्टिगत गरेर सञ्चालनमा रहेको यातायात क्षेत्र नाका बन्दले पर्यटक नआउँदा समस्यामा परेका हुन् ।


Author

थप समाचार
x