पर्यटन र रात्रिकालीन व्यवसाय ब्युँताउन कार्यदल बनाउँदै सरकार
काठमाडौँ – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै लयमा फर्काउन कार्यदल गठन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गरिने बताएका हुन् ।
मन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूलाई समेटेर कार्यदल गठन गरी पर्यटन र रात्रिकालीन व्यवसायमा देखिएका समस्या समाधान गरिने भएको हो ।
यी क्षेत्रलाई पूर्ण रूपमा सञ्चालन गर्दा देखिनसक्ने सकारात्मक र नकारात्मक असरबारे कार्यदलले बुझाउने प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने गृहमन्त्री खाणको भनाइ छ । काठमाडौं उपत्यकाका पर्यटन र रात्रिकालीन व्यवसायीहरूसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले पर्यटन व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रिकालीन व्यवसायलाई मर्यादित बनाउनुपर्ने धारणा राखे ।
‘पर्यटन व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रिकालीन व्यवसायलाई सम्मानित र मर्यादित बनाऔं,’ मन्त्री खाणले भने, ‘सरकार पर्यटन व्यवसायमैत्री छ । हामीले तपाईंहरूलाई स्वतन्त्र रूपमा व्यवसाय चलाउन दिने पक्षमा छौं । तर नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो । त्यसमा व्यवसायी र सरकार गम्भीर बन्नुपर्छ ।’ कोभिड–१९ का कारण पर्यटन व्यवसायीले भोगेको पीडाबारे सरकार जानकार रहेको भन्दै व्यवसायीको पीडामा सरकार संवेदनशील रहेको उनले बताए ।
नागरिकलाई अकाल मृत्युबाट बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको भन्दै त्यसमा ख्याल गर्न व्यवसायीहरूलाई मन्त्रीले आग्रह गरे । उनले आफू पर्यटन व्यवसायीको पक्षमा रहेको भन्दै कसरी पूर्णरूपमा पर्यटन व्यवसायलाई पहिलाकोजस्तै अवस्थामा फर्काउन सकिन्छ भन्ने विषयमा विश्लेषण गरेर अगाडि बढ्ने पक्षमा रहेको स्पष्ट पारे । ‘म व्यक्तिगत रूपमा पर्यटन व्यवसायीको पक्षमा छु,’ मन्त्री खाणले भने, ‘ कसरी ‘फुलफेज’मा पर्यटन व्यवसाय चलाउन सकिन्छ यस विषयमा सम्बन्धित पक्षसँग छलफल र विश्लेषण गरेर अगाडि बढ्ने तयारीमा हामी छौं । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय चलाउनु भयो र सरकारका नीति नियम पालना गर्नुभयो भने सरकार तपाईंहरूको पक्षमा छ ।’
बैठकमा गृहसचिव टेकनारायण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने उल्लेख गरे । जनजीवनलाई सामान्य बनाउन सरकार तयार रहेको भन्दै उनले यसका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसायीले सहयोग गर्नुपर्ने सचिव पाण्डेको भनाइ छ । उनले पर्यटन व्यवसाय खुलेपछि पुनः बन्द गर्नुपर्ने अवस्था नआउने गरी सजगता अपनाउन पनि आग्रह गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अहिलेसम्म पर्यटन व्यवसाय खुल्दा स्वास्थ्यको मापदण्ड पालनामा समस्या देखिएको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको जानकारी गराए । उनले व्यवसाय, पर्यटक र शान्ति सुरक्षालाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने बताए ।
बैठकमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डंगोल, व्यवसायी मिलन कार्की, रात्रिकालीन व्यवसायी संघका दिनेश श्रेष्ठ, डान्सबार संघका राजकुमार लामाले व्यवसाय बन्द हुँदा आफूहरूले झेल्नु परेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराएका छन् । उनीहहरूले आफूहरू सरकारले बनाएको नीति नियम र स्वास्थ्य मापदण्ड पालना गर्न तयार रहेको भन्दै पूर्णसमय व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया