दाङबाट खसी-बोका काठमाडौं पठाइँदै
फाइल फाेटाे
तुलसीपुर – यस वर्ष दसैं तिहारका लागि दाङबाट एक हजार खसी–बोका काठमाडौं पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो ।
खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल चौधरीले जानकारी दिए । ‘कर्मचारी खसी–बोका खरिद गर्न खोज्न गाउँगाउँ पुगेका छन् । खरिद दरबारे किसानलाई पत्राचार गरिएको छ, सोमबारसम्म पश्चिम दाङबाट २ सय खसी–बोका काठमाडौं पठाउँछौं,’ उनले भने । पहिलो चरणमा ६ सय र दोस्रो चरणमा ४ सय खसी–बोका काठमाडौं पठाउन लागिएको हो ।
कर्मचारीले गाउँगाउँमा खसी–बोका खोज्न पुगेपछि किसान खुसी भएका छन् । ‘खसी बेचेर दसैं खर्चको जोहो गरिने भयो,’ दंगीशरण गाउँपालिका–५ की ५७ वर्षीया सावित्रा अधिकारीले भनिन् । कार्यालयले बाँकी खसी–बोका देउखुरी क्षेत्रबाट खरिद गर्ने जनाएको छ । देउखुरीमा सहकारीमार्फत किसानले खसी–बोका पाल्दै आएका छन् ।
जीउँदो खसी–बोकाको मूल्य निर्धारण गरिएको को छ । पच्चिस किलोभन्दा बढीको जीउँदो खसीको मूल्य प्रतिकिलो ५६ हजार ५ सय २० देखि २५ किलोलाई ५५ हजार र बोकाको ५ सय ४५ रूपैयाँ प्रतिकिलो निर्धारण गरिएको चौधरीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले बिहीबार मूल्य निर्धारण गरेको हो । यसैबीच कम्पनीले दसैं तिहारका लागि सञ्चालन गरेको सुपथ मूल्य पसलमा चामल किन्न आउनेको भीड लाग्ने गरेको छ । कम्पनीले १ असोजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलमा खाद्यन्न खरिद गर्न आएकी ६५ वर्षीाय शान्ता भट्टराईले सूचना रेडियोमा सुनेपछि आएको प्रतिक्रिया दिइन् । पसलबाट चामलसँगै चिनी, तेल, दाल, मैदालगायत खाद्य सामग्री उपलब्ध गराउनुपर्ने उनले सुझाव दिइन् ।
कार्यालयका अनुसार स्टीम जिरा मसिनो चामल, साँवा स्टीम, साँवा मसिनो, सोना मन्सुली र अरू मोटा चामल बिक्रीका लागि राखिएको छ । कार्यालयले हालसम्म १७ क्वीन्टल चामल बिक्री गरिसकेको छ । पसल आगामी २४ कात्तिकसम्म सञ्चालन हुने छ । पसलबाट २ सय क्वीन्टल चामल बिक्री गर्ने लक्ष्य छ । कम्पनीले ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । जिल्लाका सबै पालिकामा सम्बन्धित उद्योग वाणिज्य संघले दैनिक उपभोग्य सामग्रीको मूल्य निर्धारण गरे पनि व्यापारीले भने फरक फरक मूल्यमा सामान बेच्ने गरेको आम नागरिकको गुनासो छ । बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य र गुणस्तरमा एकरूपता नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया