ऋणको ब्याज घटाउन लघुवित्तलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई निर्देशन दिएका छन् । १० देखि १५ प्रतिशतसम्म ब्याजदरमा ऋण लगानी गर्दै आएको बताउँदै उनले यस्तो निर्देशन दिएका हुन् ।
आइतबार माइक्रो फाइनान्स एशोसिएसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री शर्माले ‘गाँउ-गाँउसम्म पहुँच रहेका लघुवित्त संस्थाहरूले ब्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने’ धारणा राखे । लघुवित्त संस्थाहरूले तय गरेको ब्याजदर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउदै मन्त्री शर्माले यसको लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिहरूलाई आग्रह गरे ।
प्रतिनिधिमण्डलले वाणिज्य बैंकहरूबाट ऋण लिएर लघुवित्त सञ्चालन हुने गरेकोले त्यसमा लाग्ने ब्यााजदरमा नघटेसम्म लघुवित्तहरूको ब्याज घटाउन सम्भव नहुने बताएका छन् । वाणिज्य बैंकहरूले लगाउने ब्याजदरभन्दा लघुवित्तहरूले २ प्रतिशत मात्र थपेर ऋण प्रवाह गर्ने गरेको जानकारी गराए । राज्यले पूर्वाधार, उर्जा र कृषिको क्षेत्रमा जस्तै लघुवित्त कोष पनि खडा गनुपर्ने माग राखेका छन् । २०६४ सालको लघुवित्त नीतिले वर्तमानको समस्या सम्बोधन गर्न नसक्ने भन्दै उनीहरूले यससम्बन्धी नयाँ नीति बनाउन सरकारसँग माग गरेका छन् ।
एशोशियशनका अध्यक्ष जगतबहादुर पोख्रेल नेतृत्वको प्रतिनिधि मण्डलले पेश गरेको मागपत्रमा राष्ट्रिय लघुबित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषका स्थापना गर्नुपर्ने,लघुवित्तमा लाग्ने संस्थागत कर अरुलाई आधा घटाउनुपर्ने, समूह सदस्यको बचतको ब्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने तथा संस्थामा आवद्घ व्यक्तिको जीवन रक्षा र जिविकोपार्जनको बीमा गर्ने र बीमा कम्पनीहरूले पुनर्बिमा सेवा दिनुपर्ने मागहरू समावेश गरिएको छ ।
गत असारसम्म सबै जिल्ला समेट्ने गरी ७० लघुवित्त संस्थाहरू क्रियाशील रहेका छन् । जसमा राष्ट्रिय स्तरका ४८ प्रदेश तथा स्थानीय स्तरका २२ वटा रहेका छन् । लघुवित्त संस्थाहरूमा कुल ३९ अर्ब ९२ करोड बराबरका अर्ब बराबरको लगानी छ । निक्षेप पुँजी १ खर्ब ३० अर्ब ४२ अर्ब भन्दा बढी रहेको लघुवित्तहरूले ३ खर्ब ६५ अर्ब ऋण लगानी गरेका छन् । यसको ८३ दशमलव ४ प्रतिशत ऋणविना धितोमा लगानी गरिएको छ । लघु वित्तबाट ऋण लिनेहरू ९७.८ प्रतिशत महिला छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया