अर्थ / बाणिज्य

बागमती प्रदेशको भाडा समायोजन छिट्टै हुन्छः भौतिकमन्त्री पाण्डे

इकागज |
असोज १८, २०७८ सोमबार १९:५० बजे

हेटौंडा- बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले प्रदेशभित्र सञ्चालन हुने स्थानीय र छोटो रुटको भाडादर छिट्टै समायोजन हुने बताएका छन् । भाडादर समायोजन गर्न प्रदेशसँग आवश्यक नियमावली नहुँदा त्यो बनाएर राजपत्रमा प्रकाशित भइसकेको र भाडा समायोजन गर्न बनेको अध्ययन समितिले प्रतिवेदन तयार गरेको भन्दै भाडा समायोजन अन्तिम चरणमा पुगेको मन्त्री पाण्डेले बताए । 

भाडा समायोजन गर्न अध्ययन समितिले तयार पारेको प्रतिवेदनको विश्लेषण गरेर निर्णय मात्र हुन बाँकी रहेको उनले जानकारी दिए । प्रतिवेदनको विश्लेषण गरेर भाडा समायोजन हुने अन्तिम चरणमा पुगिसकेको अवस्थामा केही यातायात व्यवसायीले एकतर्फी भाडा निर्धारण गर्ने, आन्दोलन गर्ने जस्ता कार्य गरेको प्रति मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताए । 


सोमबार काठमाडौंको अधिकांश सार्वजनिक यातायातले सेवा बन्द गरेका थिए । यसअघि केन्द्र सरकारले राष्ट्रिय स्तरमा अन्तर प्रदेशमा चल्ने सवारीको २८ प्रतिशतले भाडा वृद्धि गरेको थियो । स्थानीय तहको र छोटो रुटको भने प्रदेश सरकारले भाडा निर्धारण गर्ने कानुनी व्यवस्था छ । 

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रवक्ता नविन सिंहले छोटो समयको अवधिमा प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८ बनाएर राजपत्रमा प्रकाशित भएको जनाएका छन् । 

भाडा निर्धिारण समायोजनसँगै ठुलो संख्यामा रहेको यात्रुलाई प्रत्यक्ष प्रभाव पर्ने भन्दै मन्त्रलायले गम्भिर रुपमा यो विषयलाई लिएको र प्रक्रिया छिटो पुरा गरेर भाडादर समायोजन गर्ने प्रवक्ता सिंहले जानकारी दिए ।


Author

थप समाचार
x