अर्थ / बाणिज्य

चिनी नआउँदा बागलुङमा सुपथ मूल्य पसल खुलेन

इकागज |
असोज १८, २०७८ सोमबार २१:१४ बजे

बागलुङ – भन्सार सहुलियतको चिनी नआएपछि बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दसैं मुखैमा आइपुग्दा पनि पसल खुल्ने÷नखुल्ने अनिश्चित छ ।

चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ कार्यालयले जनाएको छ । गत वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताए । ‘भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ,’ उनले भने, ‘चिनी आउँदासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ ।’ 
समयमै चिनी आए तिहार र छठलक्षित गरेर पसल खोल्ने कार्यालयको योजना छ । सहज स्थितिमा दसैंको नवदुर्गा लाग्नुअगावैदेखि पसल सञ्चालनमा आइसक्थ्यो ।


चाडपर्वका बेला उपभोक्तालाई थोरै भएपछि सहुलियत दिने उद्देश्यले कर्पोरेशनले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । बजार भाउ चर्किएका बेला सस्तो पसलले कम मूल्यमा चिनी र नून बेच्ने गर्छ । कार्यालय प्रमुख श्रेष्ठले काठमाडौंबाहेक बाहिर रहेका संस्थानका कार्यालयमा चिनी नभएको बताए । 

‘वीरगञ्जमा रहेको संस्थानको डिपोमा सोध्दा पनि चिनी आएको छैन भन्ने जवाफ आयो,’ उनले भने, ‘मन्त्रालय तहबाटै पक्रिया लम्बिएजस्तो देखिन्छ ।’ चाडपर्वमा अभाव हुन नदिन कर्पोरेशनले वैशाखमै भन्सार छुटमा ५० हजार मेट्रिक टन चिनी ल्याउन सरकारसँग माग गरेको थियो ।


Author

थप समाचार
x