सेयर धितो कर्जामा कडाइको प्रभाव देखियो
काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितोमा बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्ने कर्जामा कडाइँ गरेपछि बिहीबार त्यसको असर बजारमा देखिएको छ । केन्द्रीय बैंकले बुधबार सेयर धितो कर्जामा कडाइँ गर्दै परिपत्र जारी गरेपछि साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर किन्नेभन्दा पनि बिक्री गर्नेको चाप बढेको छ ।
यो साता सामान्य करेक्सन हुँदै बजार बढीरहेको थियो । बिहीबार सेयर कारोबार मूल्य मापन गर्ने नेप्से परिसूचक १.१ प्रतिशत अर्थात् २२.७ अंकले घटेको छ । लघुवित्त समूहबाहेक अन्य सबै समूहको परिसूचक ओरालो लागेको छ । लघुवित्तले घोषणा गरेको लाभांशका कारण लघुवित्तको सेयरमा भने लगानीकर्ताको आकर्षण उच्च देखिन्छ ।
राष्ट्र बैंकको परिपत्र आएपछि पनि अघिल्लो साताको आइतबार जस्तो ठूलो परिमाणमा बजार घटेन । यसमा धेरै लगानीकर्ताले परिपक्वता अपनाएको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर धितो कर्जामा कडाइँ गर्ने घोषणाले गत साता आइतबार बजार एकै दिनमा १०० अंकभन्दा धेरैले घटेको थियो । तर परिपत्रमा धितो लिदाँ बैंक तथा वित्तिय संस्थालाई परिपक्वता अपनाउन आग्रह गरिएको छ ।
बुधबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पछिल्लो तीन वर्षदेखि लगातारमा नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु, विगत तीन वर्षदेखि साधरणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएको संस्थाहरुको सेयर धितोमा कर्जा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ ।
यद्यपि सेयर धितो मूल्यांकन र त्यसको आधारमा दिन मिल्ने कर्जा सीमामा भने कुनै परिवर्तन भएको छैन । यस वर्षको मौद्रिक नीतिले सेयर धितो मूल्यांकन गर्दा पछिल्लो १२० दिनको कारोबारको औसत मूल्यमा ७० प्रतिशतसम्म ऋण दिन मिल्ने व्यवस्था गरेको थियो ।
यसअघि सेयर धितोमा ऋण दिन नमिल्ने संस्थाहरुमा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका र निर्देशन बमोजिमको पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तिय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सूचीकरणबाट हटाएका संस्थाहरु र आर्थिक वर्ष समाप्त भएको एक वर्ष हुँदा पनि अन्तिम लेखा परिक्षण नगर्ने संस्थाहरुको सेयर धितो लिन नमिल्ने व्यवस्था गरेको थियो । यसका अतिरिक्त बैंक तथा वित्तिय संस्थाले सेयर धितोमा ऋण दिदाँ धितोको रुपमा लिने सेयरका मूल्य–आम्दानी अनुपात (पीई रेसियो), मूल्य र बुक भ्यालुको तुलना, लाभांश प्राप्ति (यिल्ड), लाभांश भुक्तानी अनुपात लगायत सूचकांकको विश्लेषण सम्बन्धी व्यवस्था समेत उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । यसले बैंकहरुलाई सेयर धितो स्वीकार गर्दा जोखिम विश्लेषण गर्न सहयोगी हुने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘यसका अतिरक्त राष्ट्र बैंकले ओभरड्राफ्ट (अधिविकर्ष कर्जा) पनि ५० लाख रुपैँयाभित्र सीमित गर्नुपर्ने व्यवस्था गरेको छ । जसका कारण सेयर लगानीकर्ता केही हच्किएको देखिन्छ,’ सेयर बजार विश्लेषक प्रकाश रजौरियाले भने, ‘आज बजार केही घट्नुमा लगानीकर्तामा परेको मनोवैज्ञानिक कारण मात्र हो । केन्द्रीय बैंकले सेयर धितो कर्जामा कडाइँ भन्दा पनि बैंक तथा वित्तिय संस्थालाई धितो लिने सेयरको जोखिम मूल्यांकन गरेर मात्र कर्जा देऊ भनेको हो ।’
यो साताको सुरुवातदेखि बढीरहेको नारायणी विकास बैंकको सेयर मूल्य आज ७.५१ प्रतिशत अर्थात ४८ रुपैँयाले घटेको छ । यसबाहेक नेपाल बैंक लिमिटेड, खानीखोला जलविद्युत् आयोजना, नेपाल पुनर्बीमा कम्पनी र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर मूल्य घटेको छ ।
बिहीबार नेप्सेमा १९५ कम्पनीको १ करोड ४१ लाख १४ हजार चार सय ६० कित्ता सेयर ६१ हजार ६ सय चार ओटा कारोबारबाट ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार आठ सय १५ रुपैँयामा किनबेच भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया