अर्थ / बाणिज्य

ताप्लेजुङका किसानलाई अलैंची टिप्ने खेताला पाउन गाह्रो

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १९:१ बजे

ताप्लेजुङकाे एक बगानमा अलैंची टिप्दै वृद्ध महिलाहरू ।

ताप्लेजुङ – ताप्लेजुङका किसानहरू यतिखेर अलैंची टिप्न व्यस्त छन् । तर यसका लागि उनीहरूले खेताला पाउन सकिरहेका छैनन् । विगत वर्षजस्तो खेताला पाउन नसकिएको फक्ताङलुङ गाउँपालिका-५ का अलैंची किसान कुमार राईले बताए । 

‘हिजो आज अलैंची टिप्ने खेताला पाउनै गाह्रो छ । पैसा बोकेर गाउँभरि खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याई नभ्याई हुन्छ,’ उनले भने । गाउँका प्रायःजसो युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल हुँदै गएको सिदिङवा गाउँपालिका-४ की कृषक अनिता लिम्बुले बताइन् । 


पहिले–पहिले गाउँघरमा अलैंची टिप्नका लागि छरछिमेकीबीच अर्मपर्म गरिए पनि अहिले त्यस्तो चलन हराएको उनले बताइन् । ‘एक छिमेकीको बगानमा टिपाइ सकेर अर्को छिमेकीको बगानमा अलैंची टिप्ने गरिन्थ्यो । तर, बिस्तारै यो चलन लोप हुँदै गएको छ,’ उनले भनिन् ।

अलैंची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको आफ्नै अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न नसक्दा जंगली जनावरले पाकेको अलैंची खाइदिने खतरा हुँदा समयमै टिपेर भित्र्याइसक्नु पर्छ । ताप्लेजुङमा बेँशी क्षेत्रमा असोजको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मंसिर १५ सम्म अलैंची टिप्ने चटारो हुन्छ । अहिले मध्य क्षेत्रमा अलैंची टिप्ने समय भएको छ । अलैंची टिपाइ  बेँशीदेखि क्रमशः लेकाली क्षेत्रमा सर्दै जान्छ । मंसिर अन्तिम सातासम्ममा किसानले घरघरमा अलैंची  भित्र्याई सक्छन् ।


Author

थप समाचार
x