तिलोत्तमाले थप तीन ठाउँमा ट्राफिक लाइट जडान गर्दै
बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा ट्राफिक लाइटको सफल परीक्षणपछि नगरपालिकाले थप तीन स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको छ । तिलोत्तमाको ड्राइभरटोल भलवारी र कोटिहवामा ट्राफिक लाइट जडान कार्य सुरु गर्न लागिएको हो ।
यसबाट ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणका साथै नागरिकहरूमा चेतनास्तरको समेत विकास हुने नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘ट्राफिक लाइटले तीव्र गतिमा गुड्ने सवारी साधनलाई नियन्त्रण गरी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौं,’ उनले भने ।
तिलोत्तमाको मणिग्राममा गत जेठमा ट्राफिक लाइट जडान गरिएको छ । तिलोत्तमाले जडान गरेको उक्त ट्राफिक लाइट लुम्बिनी प्रदेशमै पहिलो हो । तिलोत्तमा नगरपालिकाको लागत र प्रयासमा नगरको सर्वाधिक सवारी चाप हुने मणिग्राम चोकमा ट्राफिक लाइट जडान भएपछि नगरपालिकाले चालु आर्थिक वर्षमै थप बिस्तार गर्ने तयारी गरेको हो ।
तिलोत्तमा नगरपालिकाले नगर क्षेत्र भएर गएको बुटवल–भैरहवा ब्यपारीक मार्गको अत्यधिक व्यस्त हुने क्षेत्रमा ट्राफिक लाइट जडानको लागि गत आर्थिक वर्षमा २० लाख बजेट छुट्ट्याएको थियो । सोही बजेटबाट पहिलो चरणमा मणिग्राममा जडान गरिएको थियो । चालु आर्थिक वर्षमा तीन ठाउँमा ट्राफिक लाइट जडानका लागि ४० लाख बजेट विनियोजन भएको नगरपालिकाका योजना प्रमुख प्रदीप बनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया