बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण स्वीकृत
बर्दिबास – बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण स्वीकृत भएको छ । वातावरणीय प्रभाव मूल्यांकनलाई कारण देखाउँदै लामो समयदेखि रोकिएको उक्त कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश सरकारबाट स्वीकृत भएको हो ।
प्रदेशको वन तथा भू–संरक्षण कार्यालय र वन डिभिजन कार्यालयबाट स्वीकृत भएको उक्त फाइल केन्द्र पठाइसकिएको र छिट्टै पूर्वाधार निर्माण प्रक्रिया विधिसम्मत ढंगले अगाडि बढ्ने आयोजना प्रमुख देवीप्रसाद सुवेदीले बताए ।
पूर्वाधार निर्माणका लागि महोत्तरीको बर्दिबास नगरपालिका– ४ स्थित माईस्थानमा जग्गा पहिचान भएसँगै सम्पूर्ण प्रक्रिया सकेर करिब एक वर्षअगाडि स्वीकृतिका लागि वन डिभिजन कार्यलयमा फाइल पठाइएको थियो । प्रदेशकै गौरवको योजना भनिएको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण आयोजनामा प्रदेश सरकार नै उदासीन रहेको आरोप लागिरहेका बेला प्रदेश सरकारबाट फाइल सदर गर्दै संघीय सरकारको सम्बन्धित कार्यालयमा पठाएपछि स्थानीयहरू खुसी देखिएका छन् ।
संघीय सरकारको ‘एक प्रदेश, एक मेडिकल कलेज’को अवधारणाअनुसार आर्थिक वर्ष ०७३÷७४ को बजेट वक्तव्यको प्रकरण नम्बर २२४ मा प्रदेश– २ महोत्तरीको बर्दिबासमा, प्रदेश– ५ को रूपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख भएको थियो ।
अहिले वातावरण तथा पर्यारणविद्हरूको निरन्तर छलफलपछि बर्दिबास नगरपालिकाको वडा नम्बर– ४ स्थित माईस्थान सामुदायिक वनभित्र करिव ४९ हेक्टर क्षेत्रमा मेडिकल कलेजको संरचना निर्माणका लागि डीपीआर तयार भइसकेको छ भने उक्त डीपीआरको ढाँचासमेत मन्त्रालयमा पेस गरिसकिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया