लुम्बिनी विकासको गुरुयोजना पूरा गर्न थप साढे सात अर्ब चाहिने
बुटवल – लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए । लुम्बिनी गुरुयोजनाका बाँकी काम एकैपटक सक्न ग्लोबल टेण्डर आह्वान गरेर ठेक्का सम्झौता भएसँगै अब गुरुयोजना पूरा हुने आशा पलाएको हो । बाँकी रहेको गुरुयोजनाको कामका लागि झण्डै साढे सात अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।
लुम्बिनी विकास कोषले अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता गरेसँगै अन्तिम चरणका निर्माण कार्य चलिरहेका छन् । लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजीत जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलगअलग ठेक्का सम्झौता गरेको विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । यसका लागि तीन अर्ब ५० करोड लाग्नेछ ।
गुरुयोजनाको अन्तिम कामको सुरुवात भएसँगै लुम्बिनीमा अबको दुई वर्षभित्र अस्पताल, सडक १४ किलोमिटर, ड्रेनेज ५५ किलोमिटर, ब्लकरोड २३ किलोमिटर, सडकको दुवैतर्फ आठआठ मिटरको ग्रिनरी, १३ ठाउँमा आकर्षक गेट, पर्सा र लखरियामा मूर्तिसहित भव्य आकर्षक प्रवेशद्वार, चारवटा पञ्चधातु पार्क, एक सारस सिद्धार्थ पार्क, एक हजार ७ सय सडकबत्ती, आठवटा पार्किङस्थल र आन्तरिक लिंकेज सडक बनाइने विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईले बताए ।
लुम्बिनी गुरुयोजनामा चालु आर्थिक वर्षमा सकिने गरी अन्तर्राष्ट्रिय ध्यान केन्द्र, एउटा पोखरी, ५ नम्बर गेटदेखि मायादेवी मन्दिरसम्म ६०० मिटर सौन्दर्यीकरण गर्ने काम भइरहेका हुन् । यीबाहेक गत वर्ष नै बहुवर्षीय योजना भनेर ठेक्का लाएका वाटर टावर, विद्युत्, टेलिकम्युनिकेसनको काम सम्पन्न भइसकेको भट्टराईले बताए ।
दोस्रो चरणको कामका लागि ग्लोबल टेन्डर आह्वान गर्नुपर्ने र यसका लागि अर्थमन्त्रालयसँग छलफल अगाडि बढेको भट्टराईले बताए । दोस्रो चरणको कामका लागि करिब चार अर्ब लागत लाग्ने अनुमान छ । गुरुयोजना सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने कोषले बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया